काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वर्तमान विश्व परिवेशमा वैदेशिक रोजगारीलाई तत्काल रोक्न सम्भव नरहेको स्पष्ट पार्दै सरकारको प्राथमिकता वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको बताएका छन्।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणका कारण श्रमिकहरूको एक देशबाट अर्को देशमा जाने प्रक्रिया स्वाभाविक बनेको उल्लेख गरे। त्यसैले वैदेशिक रोजगारी पूर्ण रूपमा बन्द गर्नेभन्दा श्रमिकको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्नु सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।
‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था छैन। आजको विश्व ‘ग्लोबल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो। त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो,’ मन्त्री यादवले भने।
उनका अनुसार नेपाली श्रमिकहरू वैदेशिक रोजगारीका क्रममा शोषणमा नपरून्, उचित पारिश्रमिक प्राप्त गरून्, सुरक्षित कार्यस्थल, गुणस्तरीय आवास र आधारभूत सेवाको सुनिश्चितता होस् भन्ने उद्देश्यले सरकारले विशेष पहल गरिरहेको छ। यसका लागि युरोपेली मुलुकहरूसँग श्रम सम्झौता (लेबर एग्रिमेन्ट) गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
मन्त्री यादवले नेपाली श्रमिकका लागि सुरक्षित, कानुनी संरक्षणयुक्त र उच्च आम्दानी हुने नयाँ श्रम गन्तव्यहरूको खोजी पनि भइरहेको बताए। परम्परागत गन्तव्यमा निर्भरता घटाउँदै रोजगारीका अवसर विविधीकरण गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
आन्तरिक श्रम बजार पनि सुधारको प्राथमिकतामा
मन्त्री यादवले वैदेशिक रोजगारीसँगै देशभित्रको श्रम बजार सुधार गर्न पनि मन्त्रालयले नयाँ योजना कार्यान्वयन गर्न लागेको जानकारी दिए। उनका अनुसार अहिले आन्तरिक श्रमिकहरूले सामान्य सेवा लिनसमेत श्रम कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ, जसलाई हटाउन श्रम विभागमार्फत छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइनेछ।
‘हाल आन्तरिक श्रमिकले पनि साना कामका लागि श्रम कार्यालय धाउनुपर्ने अवस्था छ। अब ती सेवाहरूलाई डिजिटल माध्यमबाट सहज बनाइनेछ,’ उनले भने।
यसबाट श्रमिक दर्ता, श्रमसम्बन्धी सेवा, गुनासो व्यवस्थापन तथा अन्य प्रशासनिक प्रक्रिया अनलाइनमार्फत सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
ठगी नियन्त्रणमा सरकार कडा हुने संकेत
मन्त्री यादवले विगतमा कानुन कार्यान्वयन प्रभावकारी नहुँदा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति तथा संस्थाको मनोबल बढेको स्वीकार गरे। अब भने सरकारले त्यस्ता गतिविधिविरुद्ध कडाइका साथ प्रस्तुत हुने उनले बताए।
उनले जनताले सरकारबाट छिटो र प्रभावकारी परिणाम अपेक्षा गरिरहेको उल्लेख गर्दै श्रम मन्त्रालय परिणाममुखी ढंगले काम गर्न तीव्र गतिमा अघि बढिरहेको दाबी गरे।
मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन सरकार, निजी क्षेत्र, वैदेशिक रोजगार व्यवसायी, श्रमिक तथा सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको पनि बताए। सरकारले श्रमिकको हितलाई केन्द्रमा राखेर नीतिगत सुधार, डिजिटल सेवा विस्तार र अन्तर्राष्ट्रिय श्रम सम्झौतामार्फत वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने तयारी गरिरहेको उनको भनाइ छ।