काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार यही कार्यशैलीमा अघि बढे पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्। उनले सरकारप्रति जनतामा निराशा बढ्दै गएको भन्दै आफ्नो कार्यशैली सुधार्न सरकारलाई आग्रह गरेका छन्।
शनिबार आयोजित उज्यालो नेपाल पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्च को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सरकार पाँच वर्ष नै टिकेर स्थायित्व कायम होस् भन्ने आफ्नो चाहना भए पनि हाल देखिएको कार्यशैलीले त्यसको सम्भावना कमजोर बनाइरहेको टिप्पणी गरे।
घिसिङले विशेषगरी सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति संकेत गर्दै चुनावअघि जनतासामु गरेका प्रतिबद्धता र सरकारमा पुगेपछि गरिरहेका गतिविधिबीच ठूलो अन्तर देखिएको आरोप लगाए। उनका अनुसार जनतालाई एउटा कुरा भन्ने र व्यवहारमा अर्को काम गर्ने प्रवृत्तिले सरकारप्रतिको विश्वास कमजोर बनाएको छ।
उनले जनताले सुशासन, पारदर्शिता र विकासको अपेक्षा गरेर नयाँ शक्तिलाई अवसर दिएको स्मरण गराउँदै ती अपेक्षाअनुसार काम हुन नसकेको बताए। सरकारका निर्णय र गतिविधिले जनताको विश्वास जित्न नसकेको उनको भनाइ थियो।
अध्यक्ष घिसिङले लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना गर्नु विपक्षीको मात्र होइन, सचेत नागरिक र राजनीतिक दलको पनि दायित्व भएको उल्लेख गरे। उनले सरकारलाई जनभावनाअनुसार काम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे।
उनले सरकारको गलत निर्णय वा जनविरोधी गतिविधि जारी रहे उज्यालो नेपाल पार्टी चुप लागेर नबस्ने स्पष्ट पारे। आवश्यक परे सडक आन्दोलनमार्फत सरकारलाई खबरदारी गर्ने चेतावनी दिँदै उनले जनताको हितविपरीत हुने कुनै पनि कदम स्वीकार्य नहुने बताए।
घिसिङले राजनीतिक स्थायित्व मुलुकका लागि आवश्यक रहेको उल्लेख गर्दै स्थायित्वको नाममा कमजोरी र गलत कामलाई समर्थन गर्न नसकिने धारणा राखे। उनले सरकार समयमै सचेत भएर आफ्नो कार्यशैली सुधार्न सके मात्र जनताको विश्वास कायम राख्न सक्ने बताए।
उनको भनाइले वर्तमान सरकारको कार्यसम्पादन, रास्वपाको भूमिकासँगै आगामी राजनीतिक समीकरणबारे नयाँ बहस सुरु हुने देखिएको छ। साथै सरकार र विपक्षी दलबीचको राजनीतिक प्रतिस्पर्धा अझ तीव्र बन्न सक्ने संकेतसमेत देखिएको छ।