काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहे पनि केही वस्तुमा सामान्य उतारचढाव देखिएको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो अधिकतम ४५ रुपैयाँ, सानो लोकल गोलभेँडा १२ रुपैयाँ र टनेल गोलभेँडा २१ रुपैयाँ कायम गरिएको छ।
आलुतर्फ रातो लाम्चो आलु ४८ रुपैयाँ, रातो गोलो आलु ४५ रुपैयाँ, मुडे रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ तथा सेतो आलु ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार हुने अधिकतम मूल्य तोकिएको छ। भारतीय सुकेको प्याजको अधिकतम थोक मूल्य ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
तरकारीतर्फ लोकल गाजर १२० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय बन्दा ३५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो हाइब्रिड मूला २० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ तथा डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीमध्ये रायोको साग १२० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चम्सुरको साग १०० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ तथा हरियो धनियाँ १२० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।
च्याउको मूल्य पनि उच्च रहेको छ। कन्ये च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोसम्म निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दसहरी आँप १६० रुपैयाँ, जुनार ३०० रुपैयाँ तथा तरबुजा ७० रुपैयाँ प्रतिकिलोसम्म कारोबार हुने समितिले जनाएको छ।
मसलाजन्य वस्तुमा अदुवा २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ, नेपाली सुकेको लसुन १८० रुपैयाँ, हरियो अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ७० रुपैयाँ तथा सुकेको खुर्सानी ५०० रुपैयाँ प्रतिकिलोसम्म मूल्य निर्धारण गरिएको छ।
यसैगरी, ताजा रहु माछाको अधिकतम थोक मूल्य ३४० रुपैयाँ, बचुवा र छडी माछाको ३०० रुपैयाँ प्रतिकिलो तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलोसम्म कायम गरिएको समितिले जनाएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सार्वजनिक गरिएका यी मूल्यहरू अधिकतम थोक मूल्य हुन्। बजार, ढुवानी, माग–आपूर्ति तथा स्थानअनुसार खुद्रा बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्य फरक हुन सक्ने समितिले जनाएको छ।