Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिडियाअघि शङ्कास्पद गाडी राखिएको घटनामा रास्वपाले भन्योः लोकतान्त्रिक मूल्य मान्यता उल्लङ्घन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३० २०८३
  • 608
    SHARES

काठमाडौं । विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा पार्किङ गरेर छाडिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष दबाब र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्य ले जारी गरेको विज्ञप्तिमा राज्यको चौथो अङ्गका रूपमा स्थापित आमसञ्चार माध्यम तथा सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले यस्ता गतिविधि गरिएको देखिएको उल्लेख गरिएको छ। यस्ता कार्यले स्वतन्त्र पत्रकारिता र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथि प्रत्यक्ष असर पार्ने भन्दै पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमा धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शङ्कास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन हुन्।”

रास्वपाले आफू लोकतान्त्रिक प्रणाली, विधिको शासन र नागरिक स्वतन्त्रतामा विश्वास गर्ने राजनीतिक दल भएको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता र नागरिकको सूचना प्राप्त गर्ने अधिकारको पक्षमा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याएको छ।

पार्टीले कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता कुण्ठित गर्ने, सञ्चारगृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने वा पत्रकारहरूलाई दबाबमा राख्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। स्वतन्त्र र निर्भीक पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ तथा प्राणवायुका रूपमा व्याख्या गर्दै रास्वपाले सञ्चार क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधिको कडा भर्त्सना गरेको छ।

विज्ञप्तिमार्फत रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ। साथै सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न र घटनामा संलग्न जोकोहीलाई पहिचान गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।

पार्टीले सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई कुनै पनि प्रकारको दबाब, त्रास वा प्रभावमा नपरी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारिता निरन्तर अघि बढाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो साथ सधैँ रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

उल्लेखनीय छ, सोमबार अनलाइनखबर, कान्तिपुर लगायतका सञ्चार संस्थाका कार्यालय अगाडि बेवारिसे अवस्थामा केही सवारी साधन पार्किङ गरेर छाडिएको थियो। घटनापछि सुरक्षा निकायले ती सवारी साधनको अवस्था अध्ययन गरी प्रहरीको क्रेन प्रयोग गरेर सम्बन्धित स्थानबाट हटाएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४