Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिडियाका गेट अगाडि भेटिएका शङ्कास्पद सवारी ५०० रुपैयाँ जरिवानामै छुट्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०८३
  • 798
    SHARES

काठमाडौं । राजधानीका विभिन्न सञ्चारगृह तथा संवेदनशील स्थानको गेट अगाडि शंकास्पद अवस्थामा बेवारिसे छाडिएका सवारीसाधनका धनी वा चालक सम्पर्कमा आए उनीहरूलाई अधिकतम ५०० रुपैयाँ ट्राफिक जरिवाना गरेर छाडिने भएको छ। प्रारम्भिक सुरक्षा परीक्षणमा कुनै विस्फोटक पदार्थ वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री फेला नपरेपछि प्रहरीले घटनालाई फौजदारी कसुरको रूपमा नभई यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो।

प्रहरीका अनुसार शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनको बम डिस्पोजल टोली, तालिमप्राप्त कुकुर तथा अन्य सुरक्षा निकायबाट विस्तृत परीक्षण गरिएको थियो। परीक्षणका क्रममा कुनै विस्फोटक पदार्थ वा अन्य जोखिमयुक्त सामग्री नभेटिएपछि तत्काल फौजदारी अनुसन्धानको आधार नदेखिएको निष्कर्ष निकालिएको हो।

यससँगै सवारीधनी वा चालकविरुद्ध तत्काल कुनै फौजदारी मुद्दा दर्ता गर्ने, थुनछेक गर्ने वा पक्राउ गर्ने प्रक्रिया अघि नबढाइने प्रहरीले जनाएको छ। बरु प्रचलित यातायात व्यवस्था ऐन, २०४९ अनुसार सार्वजनिक स्थानमा अवरोध हुने गरी सवारी पार्किङ गरेको कसुरमा कारबाही गरिनेछ।

हाल घटनासँग सम्बन्धित पाँचवटै सवारीसाधनलाई रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। सोमबार बेलुकासम्म भने कुनै पनि सवारीधनी वा चालक आफैं प्रहरीको सम्पर्कमा आएका छैनन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सुरक्षा परीक्षणका क्रममा कुनै शंकास्पद वस्तु नभेटिएकाले आवश्यक अनुसन्धानपछि सवारीसाधन ट्राफिक प्रहरीको जिम्मा लगाइएको हो। उनका अनुसार सवारीसाधन कसले, किन र कुन उद्देश्यले ती स्थानमा पार्किङ गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले सवारीधनीको पहिचानका लागि यातायात व्यवस्था विभागसँग सम्बन्धित विवरण माग गरिएको जानकारी दिए। सवारीधनी वा चालक सम्पर्कमा आएपछि वा अनुसन्धानका क्रममा उपस्थित भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने उनले बताए।

प्रहरीका अनुसार यस घटनामा यातायात व्यवस्था ऐनको दफा १६४ आकर्षित हुन्छ। उक्त व्यवस्थाअनुसार सार्वजनिक सडक वा सार्वजनिक स्थानमा अन्य व्यक्तिलाई अवरोध पुग्ने गरी सवारीसाधन पार्किङ गर्न वा निषेधित स्थानमा सवारी अड्याउन पाइँदैन। पहिलो पटक यस्तो कसुर गर्ने व्यक्तिलाई अधिकतम ५०० रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

यता, नेपाल पत्रकार महासंघले भने घटनालाई केवल ट्राफिक उल्लंघनको विषयमा सीमित गर्न खोजिएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सञ्चारगृहलाई लक्षित गरी शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनालाई सामान्य ट्राफिक नियम उल्लंघनका रूपमा मात्र व्याख्या गर्न नमिल्ने बताएका छन्।

उनका अनुसार एकै दिन सञ्चार संस्था, सार्वजनिक व्यक्तिका निवास तथा भीडभाड हुने संवेदनशील स्थानलाई लक्षित गरी शंकास्पद रूपमा सवारीसाधन छाडिनु सामान्य संयोग मात्र हुन नसक्ने विषय हो। त्यसैले घटनाको सम्पूर्ण पृष्ठभूमि, वास्तविक उद्देश्य, संलग्न व्यक्ति वा समूहको पहिचान तथा सम्भावित योजनाबारे निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न उनले सरकारसँग माग गरेका छन्।

महासंघले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा तथा लोकतान्त्रिक अभ्यासको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारगृहमा त्रास सिर्जना गर्ने वा मनोवैज्ञानिक दबाब दिने कुनै पनि गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउन सरकारलाई आग्रह गरेको छ।

प्रहरीले भने अनुसन्धान अझै जारी रहेकाले सबै पक्षको परीक्षणपछि मात्र घटनाको वास्तविक प्रकृति स्पष्ट हुने जनाएको छ। सवारीसाधन कसले र किन ती स्थानमा छाडेको भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४