काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय बन्दै जाँदा काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा सोमबार दिनभर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले आज राति वर्षा थप तीव्र हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानभन्दा केही माथि सर्दै नेपालको तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा वर्षा भइरहेको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमदेखि भारी र केही स्थानमा अति भारी वर्षा रेकर्ड गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेको मौसमी प्रणाली अझै सक्रिय रहने भएकाले विशेषगरी रातिको समयमा वर्षाको मात्रा थप बढ्न सक्ने सम्भावना छ। उनले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
विभागले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको वर्षामापन विवरणअनुसार मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर वर्षा भएको छ, जुन अति भारी वर्षाको श्रेणीमा पर्छ। त्यसपछि सुनसरीमा ११७ मिलिमिटर र उदयपुरमा १०६ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, काठमाडौँ उपत्यकामा पनि उल्लेखनीय वर्षा भएको छ। चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसका अतिरिक्त सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी (पश्चिम) मा ६९, पाल्पामा ९८, बाँकेमा ५७ तथा कैलालीमा ५७ मिलिमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा पनि मध्यम वर्षा भएको विभागले जनाएको छ।
हाल काठमाडौँ, उदयपुर, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बाग्लुङ, पर्वतलगायतका जिल्लामा वर्षा निरन्तर भइरहेको छ। वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने, डुबान तथा सडक अवरोध हुने जोखिम बढेकाले सम्बन्धित निकायले निगरानी बढाएका छन्।
मौसमविद् अर्यालका अनुसार आज राति कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। त्यसैगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। दिउँसोको तुलनामा रातिको समयमा वर्षा गराउने प्रणाली बढी सक्रिय हुने भएकाले रातिको समयमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
विभागले पहिरोको जोखिम भएका बस्ती, नदी किनार, डुबान भइरहने क्षेत्र तथा कमजोर भौगोलिक अवस्थाका स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। साथै, लामो तथा अत्यावश्यक यात्रामा निस्कनुअघि सडक र मौसमको पछिल्लो अवस्था बुझ्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न पनि आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने, कृषि क्षेत्रमा क्षति पुग्ने तथा जनजीवन प्रभावित हुने सम्भावना रहेकाले विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई उच्च तयारी अवस्थामा रहन पनि मौसमविद्हरूले सुझाव दिएका छन्।