सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ अर्चलेबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ७० वर्षीय रत्नबहादुर मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मगरको साथबाट दुई किलो ९२८ ग्राम अवैध गाँजा बरामद गरिएको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गर्दा गाँजा फेला परेको र त्यसपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार रत्नबहादुर मगरले आफ्नै घरमा अवैध रूपमा गाँजा लुकाइछिपाइ राखेर बिक्री–वितरण गर्दै आएको भन्ने सूचनापछि विशेष निगरानी बढाइएको थियो। त्यसपछि प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गर्दै घरमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा बरामद गरिएको गाँजासहित उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मगरलाई सोमबार सार्वजनिक गर्दै प्रहरीले उनीमाथि लागुऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। बरामद गाँजाको स्रोत, त्यसको खरिद–बिक्रीमा संलग्न अन्य व्यक्ति वा सञ्जालबारे पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्न निगरानी र विशेष अपरेशनलाई तीव्र बनाइएको जनाएको छ। प्रहरीले लागुऔषधको उत्पादन, ओसारपसार तथा बिक्री–वितरणमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ।
साथै, लागुऔषध सम्बन्धी कुनै पनि गतिविधिको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ। प्रहरीले समुदायको सहयोगबाट लागुऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।