Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पस्यो, सुकुम्बासी परिवारको बिचल्ली; ‘१५ दिनको वाचा तीन महिनासम्म पनि पूरा भएन’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 1K
    SHARES

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट स्थानान्तरण गरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरू बाढीका कारण थप संकटमा परेका छन्। शनिबार मध्यराति करिब १२:४० बजेदेखि होल्डिङ सेन्टरभित्र बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सयौँ परिवारको जनजीवन अस्तव्यस्त बनेको हो।

सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि तीन महिना बितिसक्दा समेत कुनै ठोस व्यवस्थापन नभएको भन्दै पीडितहरूले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार असुरक्षित स्थानमा राखिएकै कारण बाढीले थप विपत्ति निम्त्याएको हो।

बाढी अचानक पस्दा अधिकांश परिवार सुतिरहेका थिए। बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला तथा दमका बिरामीहरू रातभर त्रासमा बिताउन बाध्य भए। धेरैको ओढ्ने–ओछ्याउने, लुगाफाटा, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री पूर्ण रूपमा भिजेर नष्ट भएको छ। केही परिवारले ज्यान जोगाउन मात्रै सके पनि आफ्नो सम्पत्ति सुरक्षित गर्न नसकेको बताएका छन्।

पीडित दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन गर्नुको सट्टा सामान्य राहत बाँडेर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए। आफूहरूलाई पहिले बस्दै आएको स्थानमा समेत फर्किन नदिएको भन्दै उनले सरकारको व्यवहारप्रति आक्रोश व्यक्त गरे।

उनले भने, “यो खालको बर्बरता कहिलेसम्म सहने? हामी अब मर्ने बेला भइसक्यो, नदीमा हाम फाल्ने अवस्था आयो। यहाँ निमोनिया, मिर्गौला रोगी, वृद्ध आमा र साना बालबालिका छन्। आफन्तहरूलाई भेट्न समेत दिइएको छैन।”

स्थानीय कान्छीमाया घलानका अनुसार मध्यरातमा एक्कासि पानी पस्दा छाता र हातमा रहेको मोबाइल बाहेक अन्य सामान निकाल्ने अवसर नै पाएनन्। तीन बजेतिर मात्रै सुरक्षाकर्मी उद्धारका लागि पुगेको उनको भनाइ छ।

उनले भनिन्, “हामीलाई १५ दिनका लागि भनेर घर भत्काएर यहाँ ल्याइयो। हामीलाई पनि बाँच्ने अधिकार छ, हाम्रा पनि बालबच्चा छन्। सरकारले हाम्रो पीडा बुझेन। हामी कसैको लालपुर्जा भएको जग्गा मिचेर बसेका थिएनौँ।”

अर्की एक पीडितले सरकारले १५ दिनको आश्वासन दिएर तीन महिनासम्म अलपत्र पारेको आरोप लगाइन्। उनले राज्यले आफ्नो दायित्व पूरा नगरेको भन्दै सरकारका जिम्मेवार व्यक्तिहरूलाई नागरिकको पीडा बुझ्न आग्रह गरिन्।

उनको भनाइ थियो, “यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो। सरकारमा भएकाहरूले पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का राखून्। हामीलाई किन ढाँटियो? किन यस्तो अवस्था सिर्जना गरियो?”

अर्का पीडित डम्बर तामाङले बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताए। बालबालिकाले चप्पलसमेत गुमाएकाले अहिले खाली खुट्टै हिँड्नुपरेको उनले सुनाए।

उनले भने, “सामान निकाल्नसमेत पाइएन। सबै हिलोले पुरियो। सुरक्षाकर्मी समयमै आएनन्, हामी आफैँले ज्यान जोगायौँ।”

पीडितहरूका अनुसार होल्डिङ सेन्टरमा मुटु, मिर्गौला, दमलगायत दीर्घरोग भएका बिरामीहरू समेत छन्। चिसो, ओसिलो र अस्वस्थ वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ। साथै, सुरक्षाकर्मीहरूले बाहिर निस्कनसमेत अवरोध गरेको र अमानवीय व्यवहार देखाएको आरोप पनि उनीहरूले लगाएका छन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरेका छन्। उनले बाढीबाट प्रभावित परिवारका लागि तत्काल खाना, डस्ना, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको जानकारी दिए।

उनले भने, “बाढीले समस्या निम्त्याएको सत्य हो। राज्यले यसको जिम्मेवारी लिनुपर्छ। अहिले प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्ने र दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्ने काममा केन्द्रित भएका छौँ।”

वर्षायामको बीचमा सुरक्षित आवासको अभावमा रहेका यी सुकुम्बासी परिवारहरूले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, क्षतिग्रस्त सामग्रीको क्षतिपूर्ति तथा स्थायी पुनर्स्थापनाको माग गरेका छन्। उनीहरूका अनुसार सरकारले समयमै संवेदनशील ढंगले समस्या समाधान नगरे मानवीय संकट अझ गहिरिने खतरा रहेको छ। बाढीले एकातिर उनीहरूको सम्पत्ति नष्ट गरेको छ भने अर्कोतर्फ सरकारी प्रतिबद्धता कार्यान्वयन नहुँदा भविष्यप्रति उनीहरूमा निराशा र आक्रोश दुवै बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४