काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर रहेकाले काठमाडौंस्थित वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था चिकित्सकहरूको निरन्तर निगरानीमा रहेको छ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले नेपालीको उपचार गरिरहेको छ। उपचार टोलीमा प्लास्टिक सर्जरी विभागका युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली संलग्न रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार चिकित्सकहरूको टोलीले नेपालीको रक्तचाप नियन्त्रणमा राख्ने, श्वासप्रश्वासलाई सहज बनाउने तथा समग्र स्वास्थ्य अवस्थालाई स्थिर बनाउने प्रयास निरन्तर गरिरहेको छ। हाल उनको अवस्था संवेदनशील रहेकाले चौबीसै घण्टा विशेष निगरानीमा राखिएको छ।
प्रारम्भिक तयारीअनुसार उनलाई थप उपचारका लागि बिहीबार रातिनै भारत लैजाने योजना बनाइएको थियो। तर उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त अस्थिर रहेको र यस्तो अवस्थामा हवाई वा स्थलमार्गबाट अन्यत्र स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने सुझाव दिएपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप विशेषज्ञ उपचारका लागि भारत पठाउन उपयुक्त हुने सुझाव दिएका छन्। त्यसअघि वीर अस्पतालमै आवश्यक सबै उपचार जारी रहनेछ।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पताल स्रोतले जनाएको छ। गम्भीर प्रकृतिको जलन भएकाले संक्रमण नियन्त्रण, शारीरिक अङ्गहरूको कार्यक्षमता जोगाउने तथा आवश्यक जीवनरक्षक उपचारमा विशेष ध्यान दिइएको छ।
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सेवा, औषधोपचार तथा अन्य व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी उपचार प्रक्रिया अघि बढाइएको छ।
घटनाको कारण र आत्मदाह प्रयासको पृष्ठभूमिबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ। यता चिकित्सकहरूले भने अहिलेको प्राथमिकता बिरामीको स्वास्थ्य अवस्था स्थिर बनाउनु रहेको बताएका छन्।