काठमाडौं । मधेश प्रदेशमा यस वर्ष मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ। उपभोक्ताले महँगो मूल्य तिर्नुपरे पनि किसानहरूले भने उत्पादनको उचित मूल्य नपाएको गुनासो गरेका छन्। उनीहरूले शीतभण्डार, प्रशोधन उद्योग तथा प्रभावकारी बजार व्यवस्थापनको अभावका कारण बिचौलियाले बढी लाभ लिइरहेको बताएका छन्।
स्थानीय बजारमा दुई साताअघिसम्म करिब १०० रुपैयाँमा साढे दुई किलोसम्म मालदह आँप बिक्री भइरहेको थियो। तर उत्पादन घट्दै जाँदा अहिले प्रतिकिलो नै १०० रुपैयाँसम्म पुगिसकेको छ। बजारमा मूल्य बढे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुगेको उनीहरूको भनाइ छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले व्यापारीहरूले किसानबाट कम मूल्यमा आँप खरिद गरेर बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेको बताए। बजार मूल्य बढेको देखिए पनि त्यसबाट किसानलाई कुनै विशेष फाइदा नपुगेको उनको गुनासो छ।
उनले किसानको हित संरक्षणका लागि प्रभावकारी बजार अनुगमन, मूल्य नियन्त्रण तथा कृषि उपजको उचित मूल्य निर्धारण प्रणाली लागू गर्न सरकारसँग माग गरे। “उत्पादन गर्ने किसानले भन्दा बिचौलियाले बढी नाफा कमाउने अवस्था अन्त्य हुनुपर्छ,” उनले बताए।
यस्तै, मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानहरू बगैँचामा रहेको आँप छिट्टै बिक्री गर्न बाध्य हुने अवस्था रहेको बताए। यही बाध्यताको फाइदा उठाउँदै व्यापारीहरूले कम मूल्यमा आँप खरिद गर्ने गरेको उनको आरोप छ।
उनले शीतभण्डार, फलफूल प्रशोधन उद्योग र व्यवस्थित कृषि बजारको अभावका कारण किसानले उत्पादन भण्डारण गर्न नसक्ने र तत्काल बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। यदि यस्ता पूर्वाधार उपलब्ध भए किसानले बजारको अवस्था हेरेर उचित समयमा बिक्री गर्न सक्ने र राम्रो मूल्य प्राप्त गर्ने उनको विश्वास छ।
कृषकहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, कृषि उपज खरिद–बिक्रीलाई व्यवस्थित बनाउन तथा फलफूल प्रशोधन उद्योग स्थापना गर्न सरकारको सक्रिय पहल आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार यसले किसानको आम्दानी वृद्धि गर्नुका साथै फलफूल उत्पादनलाई समेत प्रोत्साहन गर्नेछ।
उता आँप व्यापारीहरूका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप पनि अब करिब १० दिनसम्म मात्र उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउने तयारी रहेको व्यापारीहरूले बताएका छन्।
कृषि क्षेत्रका जानकारहरूका अनुसार उत्पादनमा आएको कमी र बजारमा बढ्दो मागका कारण मालदह आँपको मूल्य अझ केही समय उच्च रहने सम्भावना छ। यद्यपि, बजार व्यवस्थापन, भण्डारण सुविधा र किसानमैत्री कृषि नीतिको प्रभावकारी कार्यान्वयन नभएसम्म उत्पादनकर्ता किसानले आफ्नो मेहनतअनुसारको प्रतिफल पाउन कठिन हुने उनीहरूको भनाइ छ।