काठमाडौँ । राष्ट्रिय सभाकी नेपाली कांग्रेस सांसद दुर्गा गुरुङले नेपालमा उत्पादन भइरहेको विद्युत्को प्रभावकारी उपयोग र अन्तरदेशीय विद्युत् व्यापारलाई विस्तार गर्न सरकारले ठोस तथा दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने बताएकी छन्।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले विद्युत् उत्पादनमा उल्लेखनीय प्रगति भए पनि प्रसारण लाइनको अभाव, पर्याप्त भण्डारण प्रणाली नहुनु तथा वितरण व्यवस्थापन कमजोर हुँदा उत्पादित विद्युत् पूर्ण रूपमा उपयोग हुन नसकेको बताइन्।
उनले नेपालमा वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर जाने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै प्रसारण पूर्वाधार विस्तार, विद्युत् भण्डारणको व्यवस्था तथा छिमेकी मुलुकसँग विद्युत् व्यापारका अवसरलाई थप विस्तार गर्न आवश्यक रहेको उल्लेख गरिन्।
सांसद गुरुङले जलविद्युत् आयोजना निर्माणमा हुने ढिलाइले मुलुकको ऊर्जा विकास प्रभावित भइरहेको भन्दै तोकिएको समयमै आयोजना सम्पन्न हुने वातावरण बनाउन सरकारलाई निर्देशनात्मक ढंगले काम गर्न आग्रह गरिन्। आयोजना निर्माणमा देखिने प्रशासनिक झन्झट, समन्वयको अभाव र अन्य अवरोध हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
उनले विद्युत् उत्पादन बढेसँगै त्यसको आन्तरिक खपत बढाउन पनि सरकारले विशेष योजना ल्याउनुपर्ने बताइन्। उद्योग, कृषि, यातायात तथा घरेलु क्षेत्रमा विद्युत्को प्रयोग विस्तार गरी आयातित इन्धनमा निर्भरता घटाउन सकिने उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।
सांसद गुरुङले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले उत्पादनसँगै प्रसारण, वितरण, भण्डारण र विद्युत् व्यापारलाई समान प्राथमिकतामा राखी सरकार अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्।