काठमाडाैं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया तीव्र पारिएको छ। आयोजनाका लागि आवश्यक पर्ने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण भएसँगै आयोजना निर्माणको अर्को महत्वपूर्ण चरण सुरु भएको हो।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको क्षतिपूर्ति निर्धारण गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै प्रभावित स्थानीयलाई कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति वितरण गर्ने बाटो खुलेको छ।
तल्लो सेती जलविद्युत् आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका सबै संरचनाको मूल्याङ्कन गरी मुआब्जा निर्धारण गरिएको छ। यसले आयोजना कार्यान्वयनलाई थप गति दिने विश्वास गरिएको छ।
२२७ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेको हो। आयोजना निर्माणका लागि आर.के. हाइड्रो इन्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि, काठमाडौंसँग विसं २०८० फागुन ७ गते ठेक्का सम्झौता गरिएको थियो।
यद्यपि, ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण केही समय निर्माण कार्य प्रभावित भएको थियो। आवश्यक स्वीकृतिहरू प्राप्त भएसँगै अहिले आयोजना निर्माणको प्रक्रिया पुनः अघि बढिरहेको आयोजनाले जनाएको छ।
आयोजनाअन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका नजिक सारङघाट क्षेत्रमा सेती नदीमा बाँध निर्माण गरिनेछ। देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृह निर्माण गरी उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा समाहित गरिनेछ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एसियाली विकास बैंक (ADB) को अनुदान सहयोगमा तयार गरिएको हो। आयोजना सम्पन्न भएपछि नेपालको ऊर्जा उत्पादन क्षमता वृद्धि हुनुका साथै विद्युत् आपूर्तिमा थप मजबुती आउने अपेक्षा गरिएको छ।
यस आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।
आयोजना प्रमुख श्रेष्ठका अनुसार तल्लो सेती जलविद्युत् आयोजनाबाट वार्षिक करिब ५२ करोड युनिट (५२०.७८ मिलियन युनिट) विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि नेपालको ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पुग्नुका साथै औद्योगिक तथा घरेलु विद्युत् माग पूरा गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।