काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।
बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार बिहीबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस्तै, लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने ठूलो वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै बिहीबार राति देशभर सामान्यतया बादल लाग्ने मौसम रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।
मनसुनको समयमा लगातार वर्षा हुँदा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार, कमजोर भिरालो जमिन र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।