कास्की । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र रहेका ५२० वटा संरचना हटाएको छ।
महानगरले गत असार ४ गतेदेखि बसपार्कभित्र रहेका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाउँदै आएको हो। हालसम्म बास्तोला कम्प्लेक्सका ३२० वटा तथा अन्य २०० वटा सटर तथा कवलहरू खाली गरिएको पोखरा महानगरले जनाएको छ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार हाल खाली गरिएको क्षेत्रमा सम्याउने काम भइरहेको छ भने थप व्यवस्थापनको काम पनि निरन्तर भइरहेको छ।
पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने उद्देश्यले विसं २०३० मा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर लामो समय बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको छैन। अधिग्रहण गरिएको जग्गामध्ये अहिले करिब २६ रोपनी मात्र बाँकी रहेको जनाइएको छ।
पछिल्लो समय महानगरले बसपार्क क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाउने र अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया अघि बढाएको हो।
महानगरले लालपूर्जाभित्र रहेका व्यापारिक संरचना हटाए पनि बसपार्क क्षेत्रभित्र रहेका सुकुमवासी बस्ती व्यवस्थापन भने अझै बाँकी रहेको छ। बसपार्कभित्र रहेका तीन वटा सुकुमवासी बस्तीमा करिब ५७२ घर परिवारले जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका छन्।
महानगरले सुकुमवासीलाई वैकल्पिक व्यवस्थापन गरेपछि मात्र अतिक्रमित घरटहरा हटाउने जनाएको छ।
हाल डोजर लगाएर हटाइएको बास्तोला कम्प्लेक्सको जग्गासहित पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा रहेको बताइएको छ। विसं २०३० मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले सट्टा भर्ना तथा घडेरी वितरणसम्बन्धी निर्णय गरेको थियो।
सोही विषयमा छानबिन गर्न महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। समितिको प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन।
यसैगरी बसपार्क क्षेत्रका भूमिहीन सुकुमवासीको वैकल्पिक व्यवस्थापनका लागि महानगरले विभिन्न छ स्थानमा जग्गा खोजी गरी प्राविधिक अध्ययन गरिरहेको जनाएको छ।