काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी तथा कारबाहीलाई थप कडाइ गरेसँगै पछिल्लो २४ घण्टामा मात्रै दुई हजार ७६ जना सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गर्दा राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व संकलन भएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी ले उपत्यकाभित्र सडक सुरक्षा कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा चेकजाँच र निगरानी अभियान सञ्चालन भइरहेको बताए।
प्रहरीका अनुसार सबैभन्दा बढी कारबाही तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई गरिएको छ। पछिल्लो २४ घण्टामा २२८ जना चालक तीव्र गतिका कारण कारबाहीमा परेका छन्। त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८८ जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
यसैगरी, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने ९३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ जना, लेन अनुशासन पालना नगर्ने १२९ जना र निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना चालकलाई समेत कारबाही गरिएको छ।
सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना, एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८८ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १८६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकामा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लेन अनुशासनको अभाव तथा तीव्र गतिका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ। त्यसैले ट्राफिक नियम पालना गराउन नियमित चेकिङ, सचेतनामूलक कार्यक्रम तथा निगरानीलाई अझ प्रभावकारी बनाइएको छ।
प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, निर्धारित गतिमा मात्रै सवारी चलाउन तथा सडक सुरक्षासम्बन्धी मापदण्डहरूको पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ।
ट्राफिक प्रहरीको भनाइमा नियम उल्लङ्घन गर्नेहरूमाथि आगामी दिनमा पनि कारबाहीलाई निरन्तरता दिइनेछ भने सुरक्षित, व्यवस्थित र दुर्घटनारहित सडक निर्माणका लागि नागरिकको सहयोग अपरिहार्य रहेको छ।