काठमाडौं । सोह्र वर्षअघिसम्म धेरैका लागि अपरिचित रहेको अन्नपूर्ण हिमालको आधार शिविर अहिले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर पहिचान, पदमार्ग निर्माण, पूर्वाधार विकास तथा प्रभावकारी प्रवर्द्धनका कारण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा गुल्जार बनेको हो।
स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायको संयुक्त प्रयासमा पदमार्ग निर्माण, खानेबस्ने सुविधा विस्तार तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन भएपछि यहाँ अपेक्षाभन्दा धेरै पर्यटक आउन थालेका छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको भूगोलभित्र पर्ने तथ्य स्थापित भएपछि पर्यटन गतिविधिले नयाँ गति लिएको छ।
उनले छोटो समयमै सहज पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा परेको बताए। “पूर्वाधारले धान्न सक्ने क्षमताभन्दा बढी पर्यटक आउन थालेका छन्,” उनले भने, “पदमार्ग निर्माण र प्रवर्द्धन कार्यक्रमले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ।”
विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य धेरैलाई थाहा थिएन। आधार शिविर कास्की क्षेत्रमा मात्र रहेको बुझाइ कायम थियो। तर सन् २०१२ मा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोग नारच्याङ पुगेपछि उनले प्रयोग गरेको आरोहण मार्ग र आधार शिविरबारे जानकारी दिएका थिए। त्यसपछि स्थानीयवासीले पदमार्गको खोज तथा अनुसन्धान सुरु गरेका थिए।
तत्कालीन प्रधानाध्यापक तेज गुरुङको नेतृत्वमा भएको अध्ययनपछि मार्गको पहिचान भएको थियो। त्यसैलाई आधार बनाएर अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा उक्त पदमार्गको नक्साङ्कन गरी ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरेको थियो।
स्थानीयका अनुसार निलगिरि र अन्नपूर्ण खोलाको किनार हुँदै ६८ स्थानमा काठका पुल निर्माण गरेर सात दिन लगाएर आधार शिविरसम्म पुगिएको थियो। त्यसपछि करिब ११ वर्षको अवधिमा आधारभूत पूर्वाधार निर्माण गरियो। तीन वर्षअघि सञ्चालनमा आएको नारच्याङ–आधार शिविर पदमार्ग अहिले ‘भर्जिन डेस्टिनेसन’ का रूपमा परिचित बन्दै गएको छ।
समुद्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर छोटो दूरीमा सहज पदयात्रा गरेर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको हो। वसन्त र शरदयाममा यहाँ पर्यटकको चाप उल्लेखनीय हुने गरेको छ।
पदमार्गमा सञ्चालन गरिएका अस्थायी रेष्टुरेन्टहरूको क्षमता सीमित छ। होटल व्यवसायी माइकल पुनका अनुसार दैनिक ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था भए पनि पर्यटकीय मौसममा दैनिक २०० जनाभन्दा बढी पाहुना आउने गरेका छन्। क्षमताभन्दा धेरै पर्यटक आउँदा टेन्ट र पालको व्यवस्था गरेर बसोबास गराउनुपर्ने अवस्था रहेको उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने भएकाले स्थायी संरचना निर्माणका लागि सरकारी अनुमति आवश्यक पर्छ। यही कारण पूर्वाधार विस्तारमा केही चुनौती देखिएको व्यवसायीहरूको भनाइ छ।
हाल नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक तथा हुमखोलादेखि आधार शिविरसम्म २२ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ। यसअघि भने वसन्तयाममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र आधार शिविरसम्म पुग्ने गरेका थिए।
आधार शिविर पुग्ने क्रममा पर्यटकले मिस्त्रीखोलाको किनार, अग्ला झरना, मनोरम हिमशृङ्खला, दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्न सक्छन्। सामान्यतया दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्कन सकिने भएकाले यो पदयात्रा छोटो तर रोमाञ्चक मानिन्छ।
निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको समथर भूभागमा अवस्थित आधार शिविरको अर्को प्रमुख आकर्षण पञ्चकुण्ड ताल हो। समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको यो प्राकृतिक हिमताल अन्नपूर्ण हिमालबाट पग्लिएको हिउँको पानी जम्मा भएर बनेको हो। एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको यस ताल र अन्नपूर्ण हिमालको दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र थप आकर्षक बनेको छ।
आधार शिविरमा अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण टोलीका सदस्य मौरिस हर्जोग, लुई लाचेनल तथा सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरिएको छ। साथै हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली समेटिएको ताम्रपत्रसहितको खुला सङ्ग्रहालय पनि निर्माण गरिएको छ।
यद्यपि बढ्दो पर्यटक आगमनसँगै विभिन्न चुनौती पनि देखापरेका छन्। सञ्चार सेवा, विद्युत्, स्वास्थ्य सुविधा तथा आवास व्यवस्थापनको अभावले पर्यटक र व्यवसायीलाई समस्या हुने गरेको छ। विशेषगरी लेक लागेका बिरामीको उद्धार तथा पर्यटक व्यवस्थापनमा सञ्चार सुविधाको कमी मुख्य चुनौती बनेको छ।
त्यसैगरी, बढ्दो पर्यटक चापसँगै फोहर व्यवस्थापन अर्को चुनौतीका रूपमा देखा परेको छ। स्थानीयवासी तथा पर्यटन व्यवसायीले पदमार्गलाई पूर्णता दिन, झोलुङ्गे पुल स्तरोन्नति गर्न, सञ्चार सेवा विस्तार गर्न तथा वातावरणीय व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
गुमनाम अवस्थाबाट लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको अन्नपूर्ण आधार शिविरले म्याग्दीको पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना गरेको छ। तर यसको दीगो व्यवस्थापन, पूर्वाधार विस्तार र वातावरण संरक्षणमा समयमै ध्यान दिन सके मात्र यस क्षेत्रको पर्यटन सम्भावना दीर्घकालीन रूपमा उपयोग गर्न सकिने देखिन्छ।