कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थीको स्वास्थ्य, सहजता र नियमित उपस्थितिलाई ध्यानमा राख्दै विद्यालयहरूमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरेको छ। यस पहलअन्तर्गत नगरपालिकाका चार वटा माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालय मा यस्तो कक्ष सञ्चालनमा ल्याइएको हो।
महिनावारीका कारण विद्यालय जान असहज हुने तथा बिरामी हुँदा अध्ययनमा अवरोध हुने समस्या कम गर्ने उद्देश्यले यो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। विद्यालयभित्रै आराम गर्न, आवश्यक स्वास्थ्य सामग्री प्रयोग गर्न र सहज वातावरणमा समय बिताउन सक्ने भएपछि छात्राहरूको विद्यालय उपस्थितिमा सुधार देखिन थालेको बताइएको छ।
बडिमालिका माध्यमिक विद्यालय रास्कोटमा कक्षा ९ मा अध्ययनरत छात्रा कल्पना शाहीले महिनावारीको समयमा विद्यालय जान कठिन हुने समस्या अहिले धेरै सहज बनेको बताइन्।
उनले भनिन्, “महिनावारी भएको बेला हरेक महिना केही दिन विद्यालय जान असहज हुन्थ्यो। पढाइकै क्रममा पेट दुख्ने, कमजोरी महसुस हुने र रिङ्गटा लाग्ने समस्या हुन्थ्यो। अहिले विद्यालयमै आराम कक्ष बनेपछि नियमित रूपमा विद्यालय आउन थालेकी छु।”
विद्यालय प्रशासनका अनुसार आराम कक्षमा स्यानेटरी प्याड, सफा खानेपानी, प्राथमिक उपचार सामग्री, आराम गर्ने बेड तथा सरसफाइका आवश्यक सामग्री को व्यवस्था गरिएको छ।
बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालका अनुसार किशोरी विद्यार्थीलाई महिनावारीको समयमा सुरक्षित र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।
उनले भने, “महिनावारीका बेला हुने पेट दुख्ने, कमजोरी, शारीरिक असहजता र मानसिक तनावलाई ध्यानमा राखेर आराम कक्ष सञ्चालन गरिएको हो। यसले किशोरीहरूको विद्यालयप्रतिको निरन्तरता बढाउन मद्दत गरेको छ।”
रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी–सरसफाइ स्वच्छता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले नगरका विद्यालयहरूमा स्थापना गरिएका आराम कक्षले किशोरी विद्यार्थीलाई पढाइमा नियमित सहभागी हुन सहयोग पुगेको जानकारी दिए।
उनका अनुसार विद्यालयमै आवश्यक स्वास्थ्य र सरसफाइ सेवा उपलब्ध हुँदा महिनावारीलाई लिएर हुने संकोच तथा अनुपस्थितिको समस्या घट्दै गएको छ।
रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले विद्यालयलाई सुरक्षित, स्वास्थ्यमैत्री र छात्रामैत्री बनाउने उद्देश्यअनुसार कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले भने, “स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य तथा महिनावारी स्वच्छतालाई प्राथमिकतामा राखेको छ। शैक्षिक सुधारसँगै विद्यार्थीको स्वास्थ्य र सम्मानलाई पनि समान रूपमा अघि बढाइएको छ।”
विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गर्ने यस्तो अभ्यासले किशोरीमैत्री शैक्षिक वातावरण निर्माण गर्नुका साथै विद्यालय छोड्ने दर घटाउने, नियमित उपस्थितिमा सुधार ल्याउने तथा महिनावारीसम्बन्धी सामाजिक संकोच कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।