Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेठ सकिन लाग्दा पनि पानी नपर्दा बाँकेमा धान रोपाइँ प्रभावित, किसान आकाशे पानीकै भरमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 1.6K
    SHARES

बाँके । जेठ महिनाको अन्त्यतिर पुगिसक्दा पनि पर्याप्त वर्षा नहुँदा बाँके जिल्लामा धान खेती प्रभावित बनेको छ। विशेषगरी आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरूले धानको ब्याड राख्न समेत ढिलाइ गर्नुपरेको अवस्था देखिएको छ। समयमै वर्षा नहुँदा किसानमा चिन्ता थपिएको छ भने उत्पादनमा समेत असर पर्ने अनुमान गरिएको छ।

नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतका अनुसार अधिकांश किसानले अहिलेसम्म धानको ब्याड राख्न सकेका छैनन्। जिल्लाका धेरै क्षेत्रमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानहरू आकाशतर्फ हेरेर पानीको प्रतीक्षा गर्न बाध्य छन्।

उनले भने, “धान खेतीका लागि आवश्यक सिँचाइ, गुणस्तरीय बीउ र मलको अभावले वर्षेनि किसानले दुःखमाथि दुःख खेप्नुपरेको छ। समयमै पानी नपर्दा रोपाइँ अझै अनिश्चित बनेको छ।”

बाँकेका केही क्षेत्रमा किसानहरूले वैकल्पिक उपाय अपनाएका छन्। घरायसी प्रयोजनका लागि प्रयोग गरिने मोटर तथा कतिपय ठाउँमा खानेपानीको धाराबाट समेत पानी प्रयोग गरेर धानको बीउको ब्याड राख्ने प्रयास भइरहेको छ। तर यस्तो व्यवस्था सबै किसानका लागि सम्भव छैन।

जानकी गाउँपालिकाको साइगाउँ र बेलभार क्षेत्रका किसान पनि लामो समयदेखि वर्षाको प्रतीक्षामा छन्। जानकी गाउँपालिका वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईका अनुसार पर्याप्त पानी नपरेकाले किसानहरूले अहिलेसम्म धान रोपाइँ सुरु गर्न सकेका छैनन्।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार हालसम्म जिल्लाका करिब ४० प्रतिशत किसानले मात्रै धानको बीउ ब्याड राख्न सफल भएका छन्। सिँचाइ सुविधा पुगेका तथा वैकल्पिक पानीको स्रोत भएका क्षेत्रमा केही काम अघि बढे पनि अधिकांश किसान अझै वर्षाको पर्खाइमै छन्।

बाँके जिल्लामा प्रत्येक वर्ष करिब ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। तर पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँको समय प्रभावित हुन सक्ने देखिएको छ।

जिल्लाका केही क्षेत्रमा भने सिक्टा सिँचाइ आयोजनाले राहत दिएको छ। आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका तथा राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेको छ। यद्यपि बाँकी धेरै क्षेत्र अझै प्राकृतिक वर्षामै निर्भर छन्।

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहका अनुसार धानको बीउ राख्ने समयलाई मध्यनजर गर्दै पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको छ।

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको उक्त आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रफलमा प्रत्यक्ष सिँचाइ सेवा पुगेको जानकारी आयोजनाले दिएको छ।

समयमै मनसुन सक्रिय नभए धान उत्पादनमा असर पर्ने तथा किसानको आर्थिक अवस्थामाथि थप दबाब पर्ने चिन्ता बढिरहेको छ। किसानहरूले दीर्घकालीन समाधानका रूपमा प्रभावकारी सिँचाइ विस्तार, मल–बीउको सहज उपलब्धता र कृषि पूर्वाधारमा सरकारी लगानी बढाउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४