काठमाडौं । सामाजिक सुरक्षा कोषले संकलित योगदान रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रणनीतिअन्तर्गत जलविद्युत्, विद्युत् प्रसारण लाइन, सौर्य ऊर्जा तथा अन्य नवीकरणीय ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने तयारी गरेको छ। कोषले कर्जा तथा सहवित्तीयकरण (को–फाइनान्सिङ) मार्फत ऊर्जा क्षेत्रमा लगानी गर्ने प्राथमिकता तय गरेको जनाएको छ।
कोषका अनुसार यही जेठ २० गतेसम्म योगदानकर्ताबाट संकलित रकम १ खर्ब ११ अर्ब ७ करोड ५ लाख ८५ हजार रुपैयाँ पुगेको छ। दैनिक रूपमा योगदान रकम थपिँदै गएकाले उपलब्ध स्रोतलाई सुरक्षित, दीर्घकालीन तथा प्रतिफलमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता महसुस गरिएको कोषको भनाइ छ।
यसै सन्दर्भमा कोषले सरकारी स्वामित्वका कम्पनी तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै जलविद्युत् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अवलम्बन गरेको हो। ऊर्जा क्षेत्रमा लगानी गर्दा देशको ऊर्जा उत्पादन वृद्धि, पूर्वाधार विकास तथा आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास कोषले लिएको छ।
हाल कोषमा ऊर्जा क्षेत्रसँग सम्बन्धित चारवटा लगानी प्रस्ताव प्राप्त भएका छन्। तीमध्ये दुईवटा प्रस्तावमाथि विस्तृत छलफल र अध्ययन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। प्राप्त प्रस्तावहरूलाई आवश्यक मूल्याङ्कन र जोखिम विश्लेषणपछि कार्यान्वयनको चरणमा लैजाने तयारी भइरहेको छ।
सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी ले कोषको लगानीलाई थप विविध र प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा अवसर खोज्ने काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार योगदानकर्ताको रकम सुरक्षित राख्दै उच्च प्रतिफल प्राप्त हुने क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने नीति अनुरूप ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको हो।
कोषले हालसम्म मुख्य रूपमा बैंक तथा वित्तीय उपकरणमार्फत लगानी गर्दै आएको भए पनि अब पूर्वाधार तथा ऊर्जा जस्ता दीर्घकालीन रणनीतिक क्षेत्रमा लगानी बढाउने तयारी गरेको छ। यसले एकातर्फ कोषको लगानी पोर्टफोलियोलाई विविधीकरण गर्नेछ भने अर्कोतर्फ देशको ऊर्जा विकास अभियानमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा लगानी विस्तारको योजनासँगै सामाजिक सुरक्षा कोषले आफ्नो वित्तीय क्षमता र संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने संकेत दिएको छ। योगदानकर्ताको बचतलाई राष्ट्रिय उत्पादन र पूर्वाधार विकाससँग जोड्ने उद्देश्यले आगामी दिनमा यस्ता परियोजनामा लगानीको दायरा अझ विस्तार हुन सक्ने देखिएको छ।