काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तार तथा नेतृत्व चयन अभियानअन्तर्गत जिल्ला अधिवेशनको प्रक्रिया आइतबार पनि देशभर जारी रहने भएको छ। पार्टीको केन्द्रीय समितिले तय गरेको कार्यतालिका अनुसार शनिबार ३७ जिल्लामा अधिवेशन सम्पन्न भएपछि बाँकी जिल्लाहरूमा आइतबार अधिवेशन हुन लागेको हो।
रास्वपाले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने उद्देश्यले देशव्यापी रूपमा वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशन सञ्चालन गरिरहेको छ। यसैक्रममा शनिबार सम्पन्न अधिवेशनहरूमा नयाँ जिल्ला नेतृत्व चयन, संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोटका प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ।
शनिबार सम्पन्न अधिवेशनमध्ये कोशी प्रदेशका ८ जिल्ला, मधेश प्रदेशका २ जिल्ला, बागमती प्रदेशका ९ जिल्ला, गण्डकी प्रदेशका ५ जिल्ला, लुम्बिनी प्रदेशका ८ जिल्ला, कर्णाली प्रदेशका २ जिल्ला तथा सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो।
त्यसैगरी आइतबार कोशी प्रदेशका ४ जिल्ला, मधेश प्रदेशका ४ जिल्ला, बागमती प्रदेशका २ जिल्ला, गण्डकी प्रदेशका ४ जिल्ला, लुम्बिनी प्रदेशका ३ जिल्ला, कर्णाली प्रदेशका ६ जिल्ला र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन आयोजना गरिएको छ। पार्टीका अनुसार बारा जिल्लाको अधिवेशन भने आगामी जेठ २६ गते सञ्चालन गरिनेछ।
रास्वपाले जानकारी दिएअनुसार केही प्राविधिक तथा संगठनात्मक कारणले बाँकी रहेका १० जिल्लाको अधिवेशन भने पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि मात्रै गरिनेछ। ती जिल्लाहरूको अधिवेशनबारे पार्टीले पछि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।
पार्टीले अधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन विशेष मापदण्डसमेत लागू गरेको छ। सोही व्यवस्थाअनुसार रास्वपाका संघीय सांसदहरूले पार्टीको केन्द्रीय समितिबाहेक अन्य कुनै पनि तल्लो तहका संगठनमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ। यसले स्थानीय नेतृत्वलाई अवसर प्रदान गर्ने तथा संगठनमा नयाँ पुस्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ।
रास्वपाले संगठन निर्माण अभियानअन्तर्गत जेठ २ र ३ गते देशभर वडा भेला तथा वडा अधिवेशन सम्पन्न गरेको थियो भने जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सम्पन्न गरेको थियो। वडा र पालिका तहबाट निर्वाचित प्रतिनिधिहरूले अहिले जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिरहेका छन्।
पार्टीको आगामी कार्यक्रमअनुसार जेठ २६ गतेदेखि असार १ गतेसम्म सातै प्रदेशमा प्रदेश अधिवेशन सञ्चालन गरिनेछ। प्रदेश अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूले रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउनेछन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ। महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, नीति तथा नेतृत्व चयनका महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
देशभर संगठन विस्तार अभियानलाई तीव्रता दिएको रास्वपाले स्थानीय तहदेखि केन्द्रीय तहसम्म लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गर्दै संगठनलाई थप मजबुत बनाउने रणनीति अपनाएको जनाएको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरण र कार्यकर्ताको सहभागिता बढाउन अधिवेशनलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।