काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका लामिछानेले मंगलबार शाहसँग भेट गरी नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल गरेका हुन्।
भेटका क्रममा गृहमन्त्री शाहले रास्वपाको हालैको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालमा बनेको नयाँ सरकारको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका बताइएको छ। दुवै नेताले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले मंगलबार नै भारतका विदेशमन्त्री एस जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटहरूमा नेपाल–भारत विकास साझेदारी, लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।
भाजपाको औपचारिक निमन्त्रणामा भारत पुगेका लामिछानेको भ्रमणलाई नेपाल र भारतबीचको नयाँ राजनीतिक संवादको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनले भाजपा नेतृत्वसँग पार्टीगत सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल गरिरहेका छन्।
रास्वपाका अनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सांसदहरू तथा पार्टीका केही वरिष्ठ पदाधिकारीहरू पनि सहभागी छन्। भ्रमण अवधिभर विभिन्न राजनीतिक भेटघाट, नेपाली समुदायसँग अन्तरक्रिया तथा कूटनीतिक कार्यक्रमहरू तय गरिएका छन्।
नेपालको नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्न भारतले देखाएको चासोका बीच भएको यो भ्रमणलाई दुवै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयासका रूपमा विश्लेषण गरिएको छ।