काठमाडौँ । बागमती प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा दफावार छलफल सुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रमका विभिन्न विषयमा विस्तृत छलफल गरिने कार्यसूची तय गरिएको छ। प्रदेश सरकारको आगामी वर्षको विकास योजना, आर्थिक प्राथमिकता, सामाजिक क्षेत्रका कार्यक्रम तथा पूर्वाधार विकाससँग सम्बन्धित विषयहरूमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
गत जेठ १२ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन प्रवर्द्धन, उत्पादन र रोजगारी वृद्धि, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विस्तार तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
प्रदेशसभामा हुने दफावार छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमका सकारात्मक पक्ष, सुधार गर्नुपर्ने विषय तथा कार्यान्वयनका चुनौतीबारे धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। छलफलपछि सांसदहरूले उठाएका सुझाव तथा संशोधन प्रस्तावहरूलाई समेट्दै सरकारले आफ्नो धारणा सार्वजनिक गर्नेछ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि नीति तथा कार्यक्रममाथिको छलफललाई महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आगामी आर्थिक वर्षका लागि बजेट तथा वार्षिक योजना प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रदेशसभाको आजको बैठकले आगामी वर्षको विकास तथा आर्थिक प्राथमिकताको दिशा तय गर्ने भएकाले यसलाई प्रदेश सरकार र प्रदेशसभाका लागि महत्वपूर्ण राजनीतिक तथा नीतिगत बहसका रूपमा हेरिएको छ।