डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्य सुरक्षाकर्मीहरूले तीव्र रूपमा अघि बढाएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। उनीहरू मामाभान्जा नाता पर्ने बताइएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंह का अनुसार शुक्रबारदेखि दुवै जनासँग सम्पर्क हुन नसकेपछि खोजी सुरु गरिएको हो। खोजीका क्रममा महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको छ।
ट्युब नदी किनारमा भेटिएकाले दुवै जना महाकाली नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ। सोही आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा नदी आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म दुवै जनाको अवस्था खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।