सप्तरी । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा काम गर्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय सहदेव लौगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार केरा बगानमा रहेको धानको बीउ छर्ने खेतमा विद्युतीय मोटरमार्फत पानी पठाउन तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका लौगीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
मधेस प्रदेशमा खेतीपातीको समयमा सिँचाइका लागि विद्युतीय मोटरको प्रयोग व्यापक रूपमा हुने गरेको छ। तर मोटर जडान तथा विद्युत् लाइन व्यवस्थापनमा पर्याप्त सावधानी नअपनाउँदा प्रत्येक वर्ष किसानहरूले ज्यान गुमाउने तथा घाइते हुने घटना दोहोरिने गरेका छन्।
स्थानीय किसानहरूले यस्ता दुर्घटना न्यूनीकरणका लागि सुरक्षित विद्युतीय उपकरणको प्रयोग, जनचेतना कार्यक्रम तथा सरकारी स्तरबाट विशेष सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले खेतीपातीका क्रममा हुने विद्युत् दुर्घटनाबाट किसानको ज्यान जोगाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
यस घटनाले पुनः ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षा सम्बन्धी सचेतना र सुरक्षित सिँचाइ प्रणालीको आवश्यकता औँल्याएको छ।