काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तीकरणलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन्। साथै राज्यका सबै निकायमा महिलाको समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको संवैधानिक व्यवस्था रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले महिला अधिकारको सुनिश्चितताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धि पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता सामाजिक कुप्रथाहरूको अन्त्य गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।
त्यस्तै, महिलामाथि हुने लैंगिक, घरेलु तथा डिजिटल हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले यस्ता हिंसा र विभेदको अन्त्यका लागि कानुनी कार्यान्वयनसँगै समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्नुपर्नेमा जोड दिएका छन्।
शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले महिला अधिकारको संरक्षण, प्रवर्द्धन र सशक्तीकरणका लागि राज्य, समुदाय, नागरिक समाज तथा सरोकारवाला निकायबीच सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनले महिलाको नेतृत्व विकास, निर्णय प्रक्रियामा सहभागिता र अवसरमा समान पहुँच सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको पनि बताएका छन्।
प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाहरूलाई विशेष अवसर र सशक्तीकरणका कार्यक्रममार्फत आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। महिला सशक्तीकरणमार्फत मात्र समतामूलक, आत्मनिर्भर र समृद्ध समाज निर्माण सम्भव हुने उनको भनाइ छ।
सन्देशमा प्रधानमन्त्री शाहले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, विभेद र अन्याय अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपरेको उल्लेख गर्दै महिला अधिकारको सम्मान र संरक्षण लोकतान्त्रिक तथा समावेशी समाज निर्माणको आधार भएको बताएका छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै नेपाली दिदीबहिनीहरूको अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै दिवसको शुभकामना व्यक्त गरेका छन्।