काठमाडौं । बाराको निजगढमा आज साँझ आएको भीषण हुरीका कारण भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्यालको मृत्यु भएको हो ।
सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि हुरी चलिरहेका बेला रुखको ठूलो हाँगा भाँचिएर खस्दा उक्त दुर्घटना भएको बताइएको छ । घटनापछि गम्भीर घाइते भएका अर्याललाई तत्काल निजगढस्थित सामुदायिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ट्याक्टरमा सवार नुवाकोट सूर्यगढी नगरपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
त्यस्तै, ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोलका ५० वर्षीय बुद्धमान बल भने सकुशल रहेका प्रहरीले जनाएको छ ।
हुरीका कारण स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने क्षतिको थप विवरण संकलन भइरहेको छ ।