काठमाडाैं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन साेमबारदेखि सुरु हुँदैछ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेदेखि औपचारिक रूपमा बस्नेछ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार आजको पहिलो बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। अधिवेशनको सुरुवातमै दलका नेताहरूले प्रदेश सरकारको कामकारबाही, आगामी योजना तथा समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका थिए। सोही अनुसार आजदेखि अधिवेशन औपचारिक रूपमा सुरु भएको हो।
प्रदेशसभा सचिवालयका अनुसार यस अधिवेशनमा मुख्य रूपमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेटमा छलफल केन्द्रित हुनेछ। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रदेशको विकास प्राथमिकता, योजना र कार्यक्रमहरू तय गर्ने तयारी रहेको छ।
अधिवेशनमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर छलफल हुने अपेक्षा गरिएको छ। साथै प्रदेश सरकारका मन्त्रालयहरूले आफ्नो वार्षिक प्रगति विवरण पनि प्रस्तुत गर्ने तयारी छ।
प्रदेशसभा बैठकमा सत्ता र प्रतिपक्ष दलबीच नीति, कार्यक्रम र बजेटबारे विस्तृत छलफल हुने भएकाले यो अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउने बजेटले प्रदेशको विकास गति र जनअपेक्षालाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा चासो बढेको छ।
यस अधिवेशनले बागमती प्रदेशको आगामी नीति दिशा तय गर्ने भएकाले राजनीतिक तथा प्रशासनिक रूपमा समेत यसको विशेष महत्व रहने जनाइएको छ।