काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठकमा तनाव उत्पन्न भएको छ । पार्टीबाट निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकहरूले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका हुन् ।
कलैयाको करणराज होटलमा भइरहेको कार्यक्रममा निष्कासित स्वर्णकारका समर्थकहरूले पार्टी नेतृत्वविरुद्ध चर्को विरोध जनाएका थिए । उनीहरूले स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाहीको विरोध गर्दै उपस्थित सांसदहरूविरुद्ध नाराबाजी गर्नुका साथै हातपातको प्रयाससमेत गरेको बताइएको छ ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो । घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न कार्यक्रमस्थल वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारले आफू निकट कार्यकर्तालाई बेवास्ता गर्दै नयाँ जिल्ला समिति गठन गर्न खोजिएको भन्दै त्यसको विरोध भएको बताएका छन् । उनले पार्टीभित्र एकपक्षीय ढंगले निर्णय गरिएको आरोपसमेत लगाएका छन् ।
घटनापछि रास्वपाभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । पार्टी नेतृत्वले भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।