काठमाडौं । जेनजी राजनीतिकर्मी अमिषा पराजुली ले नेपाल प्रहरीको साइबर ब्युरोमाथि लगाएको आरोपपछि विवाद चुलिएको छ । सार्वजनिक कार्यक्रममा उनले ब्युरोमा न्याय माग्न जाँदा अपमानजनक व्यवहार सहनुपरेको अभिव्यक्ति दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको हो ।
हिजो आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पराजुलीले आफूलाई ब्युरोका एक प्रहरीले “छोरी मान्छे भएपछि थुतुनो र मु… सम्हाल्नुपर्छ” भन्ने अपाच्य शब्द प्रयोग गरेर हप्काएको आरोप लगाएकी थिइन् । उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो ।
यस विषयमा ध्यानाकर्षण भएको जनाउँदै साइबर ब्युरोले विज्ञप्ति जारी गरेको छ । ब्युरोका अनुसार घटनाबारे बुझ्नका लागि पराजुलीकी आमालाई उपस्थित गराइएको थियो । सो क्रममा आमाले ब्युरोका कुनै पनि प्रहरी कर्मचारीले त्यस्तो अश्लील तथा अपमानजनक शब्द प्रयोग नगरेको बताएका थिए ।
ब्युरोले जारी गरेको विज्ञप्तिमा पराजुलीको अभिव्यक्तिका कारण प्रहरी संगठन तथा साइबर ब्युरोको प्रतिष्ठामा असर परेको उल्लेख गरिएको छ । साथै, छोरीको भनाइबाट पर्न गएको प्रभावप्रति आमाले छोरीको तर्फबाट लिखित रूपमा माफी मागेको पनि विज्ञप्तिमा जनाइएको छ ।
घटनापछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस चर्किएको छ । कतिपयले अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका छन् भने अर्कोतर्फ केहीले प्रमाणबिनाका आरोपले राज्यका निकायको प्रतिष्ठामा असर पर्ने बताएका छन् ।
यस घटनाले सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालमा जिम्मेवारी तथा राज्यका निकायसँग सम्बन्धित आरोपबारे पुनः बहस सुरु गराएको छ ।
