Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २९ २०८३
  • 665
    SHARES

दाङ । तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।

अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।

तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेको लामो समय बितिसकेको छ । उनले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएकी छन् ।

उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिइन् । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्छिन् । यसपटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु दुई लाख ५० आम्दानी भएको स्यानीले बताइन् ।

उनले भनिन्, “अहिले बेमौसमी तरकारीखेती र धनियाँखेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु ।” विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको जनाइन् ।

उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गरेकी छन् भने १० कट्ठा जमिनमा तरकारीखेती गरेकी छन् । एक वर्षमा दुईपटक मौसमी र बेमौसमी तरकारीखेती गर्दै आएको बताउने उनले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्दै आएको जानकारी दिइन् । उनकाअनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु एकसय २० सम्म बिक्री हुन्छ । तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताइन् ।

हाल १० कट्ठामा धनियाँखेती र बाँकी जमिनमा बेमौसमी तरकारीखेती गर्दै आएको उनले उल्लेख गरिन् । तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताइन् ।

तुलसीपुर-१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन् । उनले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारीखेती गरिरहेको बताइन् । उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उनले जानकारी दिइन् ।

रेखाले भनिन्, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।”

सडक छेउमा बसेर एक वर्षमा रु चार लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिइन् । तुलसीपुर-१५ की ४० वर्षीया राजपति चौधरीले तरकारीखेतीमा रमाउँदै वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गरिरहेकी छन् ।

उनले १४ कट्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन् । तरकारीखेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताइन् ।

सामान्य लेखपढ गरेको बताउने राजपतिले यो पेसामा टिकाइराख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्य रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् । यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका ५०० बढी थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।

तरकारीखेतीबाटै आत्मनिर्भर बन्दै गएका उनीहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै गएका बताइन् ।

उनले उपनगरपालिकाभित्र तरकारीखेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताइन् । उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तरकारी बजार केन्द्रमा विभिन्न गाउँबाट तरकारी बिक्री गर्न आउने किसानका लागि बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म समय छुट्याइएको बताइन् ।

सो स्थान निःशुल्क रूपमा प्रदान गरिएको उनको भनाइ छ । “ग्राहक त्यस ठाउँमा आउन मान्दैनन् भन्ने किसानको गुनासो आएपछि हाललाई तुलसीपुर क्षेत्रका विभिन्न तीन ठाउँमा किसानलाई सडक छेउका फुटपाथमा सुरक्षित भएर तरकारी बिक्री गर्न अनुमति दिएका छौँ”, उपप्रमुख चौधरीले भनिन् ।

यसैगरी, उनीहरूलाई दिसापिसाब गर्न केही असहज भएकाले आसपासका होटेल तथा पसलका शौचालय प्रयोगका लागि उपमहानगरले समन्वय गरिरहेको जानकारी दिइन् । उपमहानगर क्षेत्रका धेरै किसान तरकारीखेतीमा आकर्षित भई आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उनको भनाइ छ ।

विशेषगरी तरकारीखेतीले गर्दा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुगेको उनले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४