काठमाडौं । नेपाली काँग्रेसभित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसेर विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई खुला चुनौती दिइएको छ।
बैठकमा करिब ८३ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ। बैठकमा बोल्ने १५ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनमार्फत गगन थापाले आफूलाई सभापति घोषणा गरेको कदमलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएका छन्। कांग्रेस नेता मानबहादुर नेपालीका अनुसार उक्त प्रक्रिया पार्टीको विधान र राजनीतिक मर्यादाविपरीत भएको आरोप लगाइएको छ।
नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेल विवाद स्थगित गर्ने सहमति भए पनि थापा पक्षले संवेदनशीलता नदेखाएको बताएका छन्। उनले भने, निर्वाचनको समयमा विशेष महाधिवेशनका नाममा गरिएको गतिविधिले पार्टीलाई झन् विभाजित बनाएको छ र अब थापालाई सभापतिका रूपमा स्वीकार गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेका छन्।
खड्का–कोइराला पक्षले शेरबहादुर देउवा नेतृत्वको १२३ सदस्यीय केन्द्रीय समितिलाई नै आधिकारिक मान्दै आएको छ। अदालतको अन्तिम निर्णय नआउन्जेल थापा नेतृत्वलाई अस्वीकार गर्ने र १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई सक्रिय बनाउने रणनीति लिएको छ।
बैठकमा समानुपातिक उम्मेदवार चयन प्रक्रियामा विधान उल्लङ्घन भएको विषयले प्राथमिकता पाएको छ। विशेषगरी पिछडिएको क्षेत्रबाट सिफारिस भएकी केन्द्रीय सदस्य विद्या तिमल्सिनालाई हटाइएको तथा दलित कोटामा पहिलो नम्बरमा रहेका मानबहादुर नेपालीलाई पाखा लगाइएको भन्दै आपत्ति जनाइएको छ। यो कदम बालकृष्ण न्यौपानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको समावेशी नजिरविपरीत रहेको दाबी गरिएको छ।
त्यसैगरी, पार्टीभित्र निर्वाचित जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरूलाई कारबाहीको धम्की दिने, मनोवैज्ञानिक दबाब सिर्जना गर्ने र ‘मिडिया ट्रायल’ गर्ने कार्य भएको भन्दै बैठकले त्यसको भर्त्सना गरेको छ।
मंगलबारको बैठकलाई नै आधिकारिक केन्द्रीय समिति बैठक दाबी गर्दै खड्का–कोइराला पक्षले छलफललाई निरन्तरता दिने जनाएको छ। देशभरका जिल्ला, प्रदेश र स्थानीय तहसम्म आफ्नै रणनीति विस्तार गर्ने तयारी गरिएको छ।
यो समूहले अदालतको अन्तिम फैसला नआउन्जेल थापा नेतृत्वलाई नमान्ने, आन्तरिक संघर्षलाई व्यवस्थित गर्ने र आगामी १५औँ महाधिवेशनको तयारीमा केन्द्रित हुने निष्कर्ष निकालेको छ।