काठमाडौं । नेपाली काँग्रेसभित्र बढ्दो आन्तरिक विवादबीच संस्थापन इतर पक्षले बोलाएको केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ।
उक्त बैठकलाई पूर्वसभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले अध्यक्षता गरिरहेका छन्।
बैठकमा तीनवटा मुख्य एजेण्डामाथि छलफल भइरहेको जनाइएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा–कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
हाल कांग्रेसभित्र गगन थापा नेतृत्वको पक्ष र देउवा–खड्का–कोइराला समूहबीच पार्टीको आधिकारिकता, संरचना तथा नेतृत्वलाई लिएर गम्भीर विवाद देखिएको छ।
संस्थापन इतर पक्षले यस बैठकलाई पार्टी एकता कायम गर्ने, संगठनलाई सुदृढ बनाउने तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
बैठकमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था, आन्तरिक समन्वय, संगठन विस्तार र भावी कार्यक्रमबारे गहन छलफल गरिरहेका छन्।