भोजपुर — पूर्वी पहाडी जिल्ला भोजपुर जिल्ला का ग्रामीण भेगमा यतिबेला किसानहरू चैतेधान रोपाइँमा व्यस्त भएका छन्। हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू खेतबारीमा जुटेका हुन्।
हतुवागढी गाउँपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिका लगायत सिँचाइ सुविधा भएका फाँटहरूमा अहिले रोपाइँको चहलपहल बढेको छ। समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन्।
हतुवागढी–२ का किसान जयबहादुर थापाका अनुसार चैतेधान छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ। यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनले बताए।
कावाखोला किनार क्षेत्रमा राजा–१२, बिजी र तौली जातका हिउँदे धानसमेत खेती हुँदै आएको छ। फागुन अन्तिमदेखि चैत अन्तिमसम्म रोपिने हिउँदे धानबाट आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म उत्पादन गर्दै आएको थापाले जानकारी दिए।
तर, पर्याप्त सिँचाइ अभाव, मलखादको कमी र श्रमिक अभावका कारण किसानहरूले समस्या झेल्नु परेको गुनासो गरेका छन्। सिँचाइ सुविधा नपुगेका क्षेत्रमा रोपाइँ ढिलो हुने अवस्था छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ भने यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ।
संस्कृति जोगाउन ‘देवाली थान’ संरक्षणमा लगानी
यसैबीच, हतुवागढी गाउँपालिका–१ घोडेटार ले स्थानीय संस्कार र संस्कृतिको संरक्षणमा सक्रिय पहल थालेको छ। पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विभिन्न सांस्कृतिक धरोहरको संरक्षणमा जोड दिइएको हो।
खप्तरी बस्नेत समुदायसँग सम्बन्धित ‘देवाली थान’को संरक्षण कार्य अघि बढाइएको वडाध्यक्ष कुमार विष्टले जानकारी दिए। गाउँपालिका र वडा कार्यालयको सहकार्यमा विभिन्न आर्थिक वर्षमा गरी करिब ४ लाख ५० हजार रुपैयाँ लगानीमा उक्त थान संरक्षण गरिएको हो।
स्थानीयवासी विनोद बस्नेतका अनुसार पहिले संरक्षण अभावका कारण पूजा–आराधनामा समस्या हुने गरेको थियो। अहिले घेराबारसहितको संरक्षणपछि सहजता आएको छ र करिब एक सय बस्नेत घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार स्थानीय तहले विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण, पुनर्निर्माण तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले संस्कृतिको संरक्षणसँगै स्थानीय आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।