काठमाडौं । सुशीला कार्की ले निर्वाचनको सुरक्षा, स्वच्छता र समयपालनमा नेपालले नयाँ मानक स्थापित गरेको बताएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको अन्तरिम सरकारले छोटो छ महिने अवधिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको उल्लेख गरिन् ।
उनले ‘जेनजी आन्दोलन’ मा ज्यान गुमाएका ७६ सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै २ हजार ६ सयभन्दा बढी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन् । साथै आन्दोलनका क्रममा भएको आर्थिक क्षतिप्रति पनि सरकार गम्भीर रहेको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना लगायत सबै सुरक्षा निकाय, अदालतका कर्मचारी तथा राजनीतिक दलहरूको समन्वय र योगदानको उच्च प्रशंसा गरिन् । उनले यिनै संस्थाहरूको सक्रियताका कारण निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न भएको बताइन् ।
“निर्वाचनको सुरक्षा, स्वच्छता र समयपालनमा हामीले नयाँ मानक स्थापित गरेका छौँ । यसले हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध बनाउनेछ,” प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले आगामी नयाँ सरकारले भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक विकास तथा सामाजिक न्यायका क्षेत्रमा ठोस र परिणाममुखी कदम चाल्ने विश्वास व्यक्त गरिन् । साथै ‘जेनजी आन्दोलन’ को जगमा बनेको सरकारले आन्दोलनकारीहरूसँग २०८२ मंसिर २४ मा गरेको सम्झौताका केही बुँदा अझै कार्यान्वयन हुन बाँकी रहेको उल्लेख गर्दै ती कार्यहरू नयाँ सरकारले पूरा गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा क्षति पुगेका उद्योग, व्यापार, सार्वजनिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी सरकारलाई पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरिन् ।