काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। पछिल्लो समायोजन भएको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।
नयाँ मूल्यसूची अनुसार:
पेट्रोल
पहिलो वर्ग: १८४ रुपैयाँ ५० पैसा
दोस्रो वर्ग: १८६ रुपैयाँ
तेस्रो वर्ग: १८७ रुपैयाँ
डिजेल/मट्टितेल
पहिलो वर्ग: १६४ रुपैयाँ ५० पैसा
दोस्रो वर्ग: १६६ रुपैयाँ
तेस्रो वर्ग: १६७ रुपैयाँ
यससँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।
निगमले वर्गीकरण पनि यथावत राखेको छ:
पहिलो वर्ग: चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज
दोस्रो वर्ग: सुर्खेत, दाङ
तेस्रो वर्ग: काठमाडौं, पोखरा, दिपायल
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गर्न बाध्य हुनुपरेको हो। विशेषगरी मार्च १ देखि २४ तारिखसम्म खरिद गरिएको पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म वृद्धि भएको उल्लेख गरिएको छ।
बारम्बारको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक खर्च, यातायात भाडा र बजार मूल्यमा थप दबाब पर्ने देखिएको छ।