काठमाडौं । जेनजी आन्दोलनका क्रममा बल प्रयोगबारे उठेका प्रश्नबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख (सीडीओ) छविलाल रिजाल ले आफूले घातक गोली चलाउने कुनै आदेश नदिएको स्पष्ट पारेका छन्।
गत २३ र २४ भदौमा भएको आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले भीड नियन्त्रणका लागि घुँडाभन्दा तल लक्षित रबरको गोली प्रयोग गर्न मात्र मौखिक निर्देशन दिएको बताएका हुन्। उनले अन्तिम विकल्पका रूपमा सिधै गोली चलाउने आदेश आफूबाट नआएको दाबी गरेका छन्।
उक्त घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाएको थियो। जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको सो प्रतिवेदनमा रिजालको बयान समावेश गरिएको छ।
रिजालका अनुसार आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्ने रेडियो सेटमार्फत आएका केही निर्देशनहरू आफूले पनि सुनेका थिए। उनले तत्कालीन प्रहरी महानिरीक्षक तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखबाट “आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नु” भन्ने सन्देश आएको सुनेको बताएका छन्।
यद्यपि, उनले आफ्नो तर्फबाट भने भीड नियन्त्रणका लागि न्यूनतम बल प्रयोग गर्ने नीति अपनाइएको र त्यसैअनुसार रबरको गोली घुँडाभन्दा तल लक्षित गर्न निर्देशन दिइएको स्पष्ट पारेका छन्। तनावपूर्ण अवस्थाबीच सुरक्षा निकायका उच्च अधिकारीहरूबाट आएका निर्देशनहरू पनि अवस्था नियन्त्रणमै केन्द्रित रहेको उनको भनाइ छ।
यो बयानसँगै आन्दोलनका क्रममा बल प्रयोग कसरी भयो भन्ने विषयमा थप बहस चर्किने देखिएको छ। मानवअधिकारकर्मी तथा नागरिक समाजले घटनाको निष्पक्ष छानबिन र जिम्मेवार व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै आएका छन्।