काठमाडौं । आज शनिबार, हिन्दू धर्ममा विशेष महत्व राख्ने दिन, शनिदेव लाई समर्पित छ। मान्यता अनुसार शनिदेवलाई प्रसन्न पार्न सके जीवनमा आउने दुःख, कष्ट र अवरोधहरू कम हुने विश्वास गरिन्छ। त्यसैले आजको दिन धेरै भक्तजनहरूले ब्रत, पूजा र दान गर्ने गर्दछन्।
धार्मिक ग्रन्थअनुसार शनिदेव लाई न्यायका देवता मानिन्छ, जसले मानिसका कर्मअनुसार फल दिने गर्छन्। उनी सूर्य देव का पुत्र हुन् भने यमराज उनका भाइ र यमुना उनकी बहिनी हुन्। शनिदेवको दृष्टि कठोर भए पनि न्यायपूर्ण हुने विश्वास गरिन्छ।
कस्तो आचरणले शनिदेव खुशी हुन्छन् ?
धार्मिक विश्वासअनुसार कडा परिश्रम गर्ने, अनुशासनमा बस्ने र धर्मको मार्ग पछ्याउने व्यक्तिलाई शनिदेवले सधैं साथ दिन्छन्। अन्याय, छलकपट र गलत काम गर्नेहरूलाई भने उनले सजाय दिने मान्यता छ।
शनिबार के गर्ने ?
शनिबार विशेष पूजा र दानको दिन मानिन्छ। यस दिन निम्न कार्यहरू गर्दा शुभ फल प्राप्त हुने विश्वास छः
शनिदेवको मन्दिरमा गई तेल चढाउने र दान गर्ने
पिपलको रुखमा जल अर्पण गर्ने र पूजा गर्ने
कालो तिल दान गर्ने
छालाका जुत्ता–चप्पल दान गर्ने
शमीको रुखको पूजा गर्ने
हनुमान को अगाडि सर्सुको तेलको दीप बालेर हनुमान चालीसा पाठ गर्ने
धार्मिक विश्वास अनुसार यी उपायहरू अपनाउँदा जीवनका नकारात्मक प्रभावहरू हट्दै जान्छन् र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।
किन पिपल र शमीको पूजा ?
पिपल र शमीका रुखलाई शनिदेवसँग जोडेर हेर्ने गरिन्छ। शनिबार यी रुखमा जल अर्पण गर्दा ग्रह दोष कम हुने र मनोकामना पूरा हुने विश्वास छ।
शनिबारको दिन केवल ब्रत बस्ने मात्र होइन, राम्रो कर्म गर्ने, गरिब तथा आवश्यकतामा परेकालाई सहयोग गर्ने र सकारात्मक सोच राख्ने दिन पनि हो। शनिदेव लाई प्रसन्न पार्न सबैभन्दा ठूलो उपाय भनेको इमानदारी, मेहनत र सदाचार हो।