काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका अधिकांश स्थानमा बदली रहने र केही क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
विशेषगरी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। आज राति पनि देशका अधिकांश स्थानमा बदली रहने र कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले हिमपात र वर्षा हुने भेगमा बसोबास गर्ने सर्वसाधारण, कृषिमा संलग्न किसान तथा यातायात र यात्रा गर्ने व्यक्तिहरूलाई सावधानी अपनाएर दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।