मलङ्गवा । मलङ्गवा मा आज एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राई का अनुसार मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर करिब ३० वर्षीय युवकको ज्यान गएको हो।
स्थानीयवासीले युवक पोखरीमा डुबिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बल को संयुक्त टोलीले खोजी कार्य अघि बढाएको थियो।
प्रारम्भिक खोजीमा शव फेला नपरेपछि अन्ततः स्थानीयको सहयोगमा माछा मार्ने जाल प्रयोग गरी युवकको शव पोखरीबाट निकालिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।