काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामा भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गर्ने तयारी गरेको छ। गत २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए।
शुक्रबार बस्ने बैठकको अध्यक्षता उपसभापति शर्मा गर्ने तय भएको छ। सभापति थापा बैठकमा सहभागी नहुने भएकाले शर्मा बैठक सञ्चालन गर्दै थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने कार्यसूचीमा रहेको छ। पार्टी स्रोतका अनुसार, शर्मा चुनावी परिणामको जिम्मेवारी कुनै एक व्यक्तिले मात्र लिनु नपर्ने तर्कसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।
कांग्रेसका एक पदाधिकारीले भने, “विशेष महाधिवेशनबाट चुनिएर आएको नयाँ नेतृत्वले चुनावका लागि निकै छोटो समय मात्र तयारी पाएको र पराजयको कारण एकल व्यक्ति नभएको निष्कर्षसहित बैठकमा प्रस्ताव लगिनेछ।”
पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए, तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहसँग पराजित भए। विशेष महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारीहरू निर्वाचनमा पराजित भएपछि थापामाथि नैतिक प्रश्न उठेको थियो।
निर्वाचन लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति शर्मा लगायतका नेताहरू र विभिन्न जिल्लाका कार्यकर्ताहरूको दबाबका कारण उनी रोकिएका थिए। ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरूले थापाले राजीनामा नदिनुपर्ने भन्दै संयुक्त विज्ञप्ति समेत जारी गरेका थिए।
शुक्रबारको बैठकमा चुनावी समीक्षाका लागि तल्लो तहबाट प्राप्त प्रारम्भिक प्रतिवेदनहरू समेत पेस गरिनेछ। कांग्रेसले सबै निर्वाचन क्षेत्रलाई पत्र पठाउँदै विजय वा पराजयको विस्तृत कारणसहितको रिपोर्ट पठाउन निर्देशन दिएको थियो। हालसम्म प्राप्त रिपोर्टहरूको साझा निष्कर्षबारे उपसभापति शर्मा बैठकलाई जानकारी गराउनेछन्। यद्यपि, तल्लो तहबाट सबै विवरण आउन बाँकी रहेकोले बैठकमा हालसम्मको प्रारम्भिक वस्तुस्थिति प्रस्तुत गरिने बताइएको छ।