कास्की। देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि ७ गतेसम्म २१औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा ‘एक्युरेसी’ विधिमा हुने बताइएको छ।
प्रतियोगितामा हालसम्म स्वदेशी र विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएका छन्। प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईका अनुसार खेलाडीहरूले पोखराको सराङकोटबाट उडान भरेर फेवाताल खपोँदीमा अवतरण गर्नेछन्।
कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणको २०७८ सालमा सोलो उडानमा रोक लगाएको कारण २०औँ संस्करणसम्मको च्याम्पियनसिप स्थगित भएको थियो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान प्याराग्लाइडिङ खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि सोलो उडान रोक लगाइएको थियो।
नेपालले १८औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जितिसकेको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीका अनुसार च्याम्पियनसिपले मनोरञ्जनात्मक तथा साहसिक हवाई खेलकुदमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनेछ।
च्याम्पियनसिपबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन सक्नेछन्। यसैगरी, आसन्न १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशस्तरीय खेलाडीहरू पनि यसबाट छनोट हुनेछन्।
पुरुषतर्फ ‘एक्युरेसी’ विधामा च्याम्पियनले रु १ लाख ५० हजार, द्वितीयले रु १ लाख र तृतीयले रु ५० हजार पुरस्कार पाउनेछन्। महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पाउनेछन्। टिम ओभरअल विधामा पहिलो हुनेले रु ७५ हजार, दोस्रो रु ५० हजार र तेस्रो रु २५ हजार पुरस्कार पाउने छन्।
आयोजकहरूले मौसमको अवस्था महत्त्वपूर्ण हुने भएकाले उडान अघि आधिकारिक मौसम पूर्वानुमान अध्ययन गरेर मात्र खेल सञ्चालन गरिने बताए। खेलाडीहरूलाई हावाको दिशा, तापक्रम, थर्मल गतिविधि र सम्भावित जोखिमसम्बन्धी ब्रिफिङ दिइनेछ भने कार्यक्रमस्थलमा आवश्यक मात्रामा स्वयंसेवक, आकस्मिक उद्धार टोली, सशस्त्र प्रहरी बल र नेपाली सेना मोटरबोटसहित उद्धार उपकरण तैनाथ गरिनेछ।