काठमाडौँ । कतारबाट नेपाल फर्कन चाहने नेपाली नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन दोहास्थित नेपाली दूतावासले अनुरोध गरेको छ।
दूतावासले आज एक सूचना जारी गर्दै कतारमा बसोबास गरिरहेका र स्वदेश फर्कन इच्छुक नेपालीहरूलाई निर्धारित प्रक्रिया अनुसार आवेदन दिन आग्रह गरेको हो।
सूचनामा मध्यपूर्व क्षेत्रमा देखिएको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। त्यसका लागि वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा रहेका नेपाली नागरिकहरूले आवश्यक भिसा प्रक्रिया पूरा गर्नुपर्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार साउदी अरेबिया हुँदै नेपाल फर्कनका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा लिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूलाई सो केन्द्रमा अपोइन्टमेन्ट बुक गरी आवेदन दिन अनुरोध गरिएको छ।
दूतावासले भिसा प्रक्रियाबारे थप जानकारी लिन इच्छुक नेपाली नागरिकहरूले ताशिर साउदी भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने जनाएको छ।
यसैबीच दूतावासले विदेशमा रहेका नेपाली नागरिकलाई आवश्यक कागजात तयार गरी प्रक्रिया पूरा गर्न तथा आधिकारिक सूचनाको आधारमा मात्र आवेदन दिन पनि आग्रह गरेको छ।