काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न गठित छानबिन कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष बुझाएको छ।
गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडामा त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो। सो दुर्घटनापछि घटनाको अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको थियो।
गृहमन्त्री अर्यालले घटनाको विस्तृत छानबिन गरी सडक यातायातलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन सुझावसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले करिब दुई हप्तासम्म अध्ययन गरेपछि आज गृहमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको हो।
सहसचिव तिवारीको संयोजकत्वमा रहेको उक्त कार्यदलमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारी, सशस्त्र प्रहरीका एसएसपी भरत खनियाँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव किरणकुमार खड्का, सडक विभागका सिडिई राकेश महर्जन, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव र गृह मन्त्रालयका उपसचिव ब्रतराज पौडेल सदस्यसचिव रहेका थिए।
कार्यदलले दुर्घटना के–कसरी र किन भयो भन्नेबारे अध्ययन गर्नुका साथै घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई उपलब्ध गराउन सकिने राहत तथा भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने उपायबारे पनि सुझाव दिएको छ।
प्रतिवेदनअनुसार चालकले कुनै कारणवश सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको निष्कर्ष निकालिएको छ। चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलन दुर्घटनाको मुख्य कारण हुन सक्ने कार्यदलले उल्लेख गरेको छ।
कार्यदलले भविष्यमा यस्ता दुर्घटना रोक्न सार्वजनिक सवारी चालकका लागि थकान व्यवस्थापन प्रणाली लागू गर्न, रात्रिकालीन बस सञ्चालनमा चालकको अधिकतम कार्य समय निर्धारण तथा अनिवार्य विश्रामको व्यवस्था गर्न र सार्वजनिक सवारीमा डिजिटल निगरानी प्रविधि अनिवार्य रूपमा लागू गर्न सरकारलाई सुझाव दिएको छ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले कार्यदलले दिएका सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
धादिङमा भएको उक्त बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए। सरकारले उक्त घटनालाई गम्भीर रूपमा लिएर सडक सुरक्षासम्बन्धी सुधारका उपायहरू अघि बढाउने जनाएको छ।