चितवन । चितवन जिल्लामा यतिबेला चैते धान रोपाइँको चटारो सुरु भएको छ। पछिल्ला वर्षहरूमा परम्परागत रूपमा हुने रोपाहारको सट्टा आधुनिक मेसिनको प्रयोग बढ्दै जाँदा धानखेतीमा यान्त्रिकीकरण विस्तार हुँदै गएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण उल्लेख्य रूपमा बढ्दै गएको कार्यालयले जनाएको छ।
कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेका अनुसार सुरुआती समयमा किसानलाई मेसिनको महत्त्व बुझाउन र प्रयोग सिकाउन केही कठिनाइ भए पनि अहिले किसानहरू आफैँ मेसिन खोज्न थालेका छन्।
उनले भने, “सुरुका वर्षमा कर्मचारीहरूले खेतमै गएर बीउ राख्ने तरिका र मेसिनबाट रोपाइँ गर्ने विधि सिकाउनुपर्थ्यो। अहिले धेरै किसानले प्रयोग सिकिसकेका छन् र मेसिनको माग पनि बढ्दै गएको छ।”
उनका अनुसार मेसिन प्रयोग गर्दा उत्पादन लागत कम हुने र उत्पादन बढ्ने भएकाले किसानहरू यस प्रविधितर्फ आकर्षित हुँदै गएका छन्।
“खेतीमा यान्त्रिकीकरण बढाउँदा उत्पादन लागत झण्डै ३० देखि ४० प्रतिशतसम्म घटाउन सकिन्छ,” कृषि अधिकृत पाण्डेले बताए।
भरतपुर महानगरपालिका–६ देवनगरका किसान प्रकाश श्रेष्ठले यस वर्ष पहिलोपटक चार बिघा क्षेत्रफलमा मेसिनबाट र दुई बिघामा परम्परागत रूपमा धान रोपाइँ गरिरहेको बताए।
उनले भने, “मेसिनबाट रोप्दा ज्याला कम लाग्दो रहेछ। उत्पादन कति हुन्छ हेर्न बाँकी छ।”
श्रेष्ठका अनुसार मेसिनबाट धान रोप्दा प्लास्टिक ट्रेमा राखेर फरक तरिकाले बेर्ना तयार गर्नुपर्छ। सामाजिक सञ्जालमा मेसिनबाट धान रोपेको देखेपछि आफूले जानकारी लिएर प्रयोग सुरु गरेको उनले बताए।
कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा देवनगरस्थित उन्नत बीउविजन केन्द्रलाई धान रोप्ने मेसिन उपलब्ध गराइएपछि त्यस क्षेत्रका किसान यस प्रविधितर्फ आकर्षित भएको कृषि अधिकृत पाण्डेले बताए।
उनकाअनुसार गत आर्थिक वर्षमा चितवन जिल्लाभर करिब ३०० हेक्टर क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिएको थियो। यस वर्ष थप ९८ हेक्टर क्षेत्रफलमा मेसिनमार्फत रोपाइँ विस्तार भएको छ।
“मेसिनबाट धान रोप्दा बीउ कम लाग्छ, ज्याला खर्च घट्छ र उत्पादन पनि बढ्छ,” पाण्डेले भने, “एक कठ्ठा क्षेत्रफलमा परम्परागत तरिकाले रोप्दा करिब दुई किलो बीउ लाग्ने भए पनि मेसिन प्रयोग गर्दा करिब ५०० ग्राम बीउले पुग्छ।”
चितवनमा आर्थिक वर्ष २०७७/७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोपाइँ सुरु गरिएको थियो। हाल जिल्लामा १३ वटा धान रोप्ने मेसिन सञ्चालनमा छन्। यस वर्ष मात्र किसानहरूलाई छ वटा मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
चितवनमा वार्षिक रूपमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको छ। जिल्लामा चैते धान प्रवर्द्धन कार्यक्रम लागू भएपछि धान जोनको कमाण्ड क्षेत्र बाहिरका किसान पनि मेसिनबाट प्रत्यक्ष रूपमा लाभान्वित भएको कृषि अधिकृत पाण्डेले जानकारी दिए।