काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
शुक्रवार राजधानीको माइतीघर मण्डलामा विद्यार्थी, सामाजिक अभियन्ता तथा सर्वसाधारण भेला भएर उक्त जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय दिन र यस्ता घटना पुनः दोहोरिन नदिन सरकारलाई दबाब दिएका हुन्।
प्रदर्शनमा सहभागीहरूले इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कठोर सजाय दिनुपर्ने माग गरेका थिए। उनीहरूले देशभर बालिका तथा महिलामाथि बढ्दै गइरहेको बलात्कार, हिंसा र हत्याका घटनाले समाज नै असुरक्षित बन्दै गएको भन्दै सरकारलाई यस्ता अपराध नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा सामाजिक अभियन्ता कविता चन्द सोडारीले आवश्यक परे कानुन संशोधन गरेर भए पनि हत्या, बलात्कारजस्ता जघन्य अपराध रोक्न कडा व्यवस्था गर्नुपर्ने बताइन्। उनले यस्ता घटनामा कहिलेकाहीँ जिम्मेवार निकाय नै दोषीलाई संरक्षण गर्ने गरेको आशंका व्यक्त गर्दै त्यसप्रति आक्रोशसमेत व्यक्त गरिन्।
उनका अनुसार समाजमा बढ्दै गइरहेको यस्ता अपराधलाई रोक्न सरकार, सुरक्षा निकाय र समुदाय सबैले जिम्मेवार ढंगले काम गर्न आवश्यक रहेको छ। उनले पीडित परिवारलाई न्याय दिलाउन नागरिक समाज निरन्तर खबरदारीमा रहने पनि बताइन्।
प्रदर्शनकारीहरूले “इनिसालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर”, “दोषीलाई कडा सजाय दे” लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।
उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन र पीडितलाई न्याय दिलाउने प्रणालीलाई सुदृढ बनाउन सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले इनिसा विकको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।