अब आधा सिलिन्डर ग्यास मात्रै: नेपाल आयल निगमले ७.१ किलो ग्यास रु ९५५ मा बिक्री गर्ने निर्णय
जन प्रहार
प्रकाशित मिति
शुक्रबार, फाल्गुन २९ २०८२
1.4K
SHARES
काठमाडौँ । नेपाल आयल निगमले ग्यास अभावको अवस्थालाई व्यवस्थापन गर्न एलपी ग्यास आधा सिलिण्डरमा बिक्री गर्ने निर्णय गरेको छ। निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको हो।
निगमले आज जारी गरेको विज्ञप्तिमा हालको परिस्थितिलाई ध्यानमा राख्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ। सो निर्णय शुक्रबारदेखि लागू हुने र अर्को सूचना जारी नभएसम्म कायम रहने निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार आम उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध गराउन सहज बनाउने उद्देश्यले आधा सिलिण्डर प्रणाली लागू गरिएको हो। निगमले उपभोक्ताहरूलाई सोहीअनुसार एलपी ग्यास खरिद गर्न अनुरोध समेत गरेको छ।
निगमले नियमित रूपमा मागअनुसार एलपी ग्यास आयात तथा वितरण गरिरहेको भए पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उल्लेखनीय रूपमा बढेको जनाएको छ।
यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समेत असर परेको निगमले जनाएको छ। यही परिस्थितिका कारण ग्यास वितरणलाई व्यवस्थित बनाउन अस्थायी रूपमा आधा सिलिण्डरमा बिक्री गर्ने निर्णय गरिएको बताइएको छ।