काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तथा राजनीतिक तनावका कारण विश्व बजारमा इन्धन अभाव देखा परेपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले ऐतिहासिक कदम चालेको छ। आईईएले आफ्ना सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा फुकुवा गर्ने निर्णय गरेको हो।
इरान र खाडी मुलुकहरू जोड्ने प्रमुख व्यापारिक मार्ग ‘होर्मुज स्ट्रेट’ मा भएका पछिल्ला आक्रमणहरूले तेल आपूर्ति शृङ्खलामा असर पारेपछि विश्वभर इन्धनको मूल्य बढेको छ। त्यसै जोखिम न्यूनीकरण गर्न आईईएका ३२ सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा आपतकालीन तेल बजारमा पठाउने निर्णय गरेका हुन्।
यस अभियानमा संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो योगदान गर्नेछ। कूल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल अमेरिका एक्लैले उपलब्ध गराउने छ। अमेरिकी ऊर्जा विभागका अनुसार अमेरिका आफ्नो ‘स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर)’ बाट आगामी सातादेखि तेल निकासी सुरु गर्नेछ र १२० दिनभित्र पूर्ण रूपमा बजारमा पठाइसकिनेछ।
हाल अमेरिकाको रणनीतिक भण्डारमा ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात छ, जसको अधिकतम क्षमता ७० करोड ब्यारेल रहेको छ। अमेरिकी ऊर्जा विभागले जनाएको छ कि बजार सन्तुलन आएपछि आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल फेरि भण्डारमा राखिने योजना छ र यसबाट करदातालाई कुनै अतिरिक्त भार नपर्नेछ।
आईईएको कार्यकारी निर्देशक फेथ बिरोल ले वर्तमान तेल बजारले अभूतपूर्व र कठिन परिस्थितिको सामना गरिरहेको बताए। उनले भनेका छन्, “अहिले तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्। यस्तो अवस्थामा सदस्य राष्ट्रहरूले चालेको कदम सकारात्मक र समयसापेक्ष छ।”
आईईएका अनुसार, सदस्य राष्ट्रहरूसँग हाल १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन इन्धन सुरक्षित छ। त्यसका अतिरिक्त उद्योग क्षेत्रको सरकारी दायित्वअन्तर्गत थप ६० करोड ब्यारेल तेल भण्डारणमा रहेको छ। प्रत्येक सदस्य राष्ट्रले आ–आफ्नो राष्ट्रिय आवश्यकता र परिस्थिति अनुसार निश्चित समयावधिभित्र यो तेल बजारमा उपलब्ध गराउनेछ।
यस कदमले विश्व बजारमा तेलको मूल्य स्थिर राख्न, आपूर्ति सहज बनाउन र सम्भावित अभाव न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।