काठमाडौं । वीरेन्द्रनगर मा १६ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न विभिन्न सङ्घसंस्थाले माग गरेका छन्।
गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वन मा भएको उक्त घटनाले आफूहरू स्तब्ध बनेको जनाउँदै सुर्खेतका विभिन्न नागरिक समाज र सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन राज्यका सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या अमानवीय र निन्दनीय घटना भएको भन्दै विज्ञप्तिमा यस्तो घटना कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गरिएको छ। साथै महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य नहुने भन्दै सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज तथा आम नागरिक सबैको साझा प्रतिबद्धता आवश्यक रहेको जनाइएको छ।
महिला तथा बालबालिकामाथि हुने यौन हिंसा रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक तथा मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेतलगायत संस्थाले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
यसैबीच यामलाल कँडेल ले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष तथा कानुनी ढङ्गले छानबिन गरिने र दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास व्यक्त गरेका छन्। उनले प्रदेश सरकारका तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेत का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मङ्गलबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रहरीका अनुसार हालसम्म मृतकका परिवारजनले शव बुझेका छैनन्। पीडित परिवारको जाहेरीका आधारमा थप अनुसन्धानका लागि भेरी अस्पताल का फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत मा पुगेर शवपरीक्षण गरेको छ। प्रतिवेदनअनुसार जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर बिहान करिब ९ बजे स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटेका थिए। उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यस घटनाले स्थानीय समुदाय, मानवअधिकारकर्मी तथा नागरिक समाजलाई स्तब्ध बनाएको छ भने दोषीमाथि कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिन सर्वत्र माग उठिरहेको छ।