काठमाडौं – प्रतिनिधिसभा सदस्य बन्न स्थानीय तह र प्रदेश सभाका पदबाट राजीनामा दिएर चुनाव लडेका अधिकांश उम्मेदवार पराजित भएका छन्। केही सीमित उम्मेदवार मात्रै चुनाव जित्न सफल भएका छन् भने धेरैले पद पनि गुमाए र चुनाव पनि जित्न सकेनन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) झापा–५ बाट विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई निर्वाचनअघि नै प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको थियो।
यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि पदबाट राजीनामा दिएर सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका छन्। साम्पाङको नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने सम्भावना समेत देखिएको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० का वडाअध्यक्ष सुशील साह कानुले पनि पदबाट राजीनामा दिएर पर्सा–२ बाट चुनाव जित्न सफल भएका छन्।
धेरै उम्मेदवार भने पराजित
तर जनप्रतिनिधि पद छाडेर संघीय संसद्मा प्रवेश गर्ने प्रयास गर्ने सबै उम्मेदवार भाग्यमानी बनेनन्। स्थानीय सरकारबाट राजीनामा दिएका १७ जनप्रतिनिधिमध्ये १४ जनाले चुनाव हारे।
धरान–१७ का वडाअध्यक्ष पदबाट राजीनामा दिएका सूर्यबहादुर भट्टराई सुनसरी–१ बाट पराजित भए। वीरगञ्ज महानगरपालिका–२० का वडाअध्यक्ष रामकिशोर सिंह पनि पर्सा–१ बाट उम्मेदवार बनेका थिए तर चुनाव जित्न सकेनन्।
भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहालले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकी थिइन्। दुई कार्यकाल मेयर बनेर विकासका काम देखाउँदै चुनाव लडेकी दाहाललाई भने सफलता मिलेन। उक्त क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित भइन्।
यसैगरी स्याङ्जाको कालिगण्डकी गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएका खिमबहादुर थापा पनि स्याङ्जा–२ बाट पराजित भए। कैलालीको टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख रामलाल डगौरा थारु कैलाली–१ बाट चुनाव लडे पनि तेस्रो स्थानमा सीमित भए।
कैलालीको भजनी नगरपालिका–३ का वडाअध्यक्ष विक्रम चौधरी पनि कैलाली–३ बाट उम्मेदवार बनेका थिए तर प्रतिनिधिसभा सदस्य बन्न सकेनन्।
ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बने पनि चौथो स्थानमा सीमित भइन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख कमरुद्दिन राई पनि बाँके–२ बाट पराजित भए।
धुलिखेल नगरपालिकाका पूर्वमेयर अशोक ब्यान्जु श्रेष्ठ, रंगेलीका पूर्वमेयर दिलीप अग्रवाल, सूर्योदय नगरपालिकाका पूर्वमेयर रणबहादुर राई, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई लगायतका उम्मेदवार पनि चुनाव जित्न सकेनन्।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष पदबाट राजीनामा दिएका मेजरकुमार राई स्वतन्त्र उम्मेदवारका रूपमा उदयपुर–२ बाट उठे पनि जम्मा ९० मत मात्रै पाए।
प्रदेश सभा छाडेर उठेकामध्ये केही मात्रै विजयी
प्रदेश सभा सदस्य पद छाडेर प्रतिनिधिसभा सदस्य बन्ने प्रयास गर्नेहरूमध्ये पनि धेरै उम्मेदवार सफल हुन सकेनन्। प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका १३ जनामध्ये पाँच जनाले मात्र जित हासिल गरेका छन्।
प्रतिनिधिसभामा निर्वाचित हुनेमा डा. तारा जोशी, रहबर अन्सारी, युवराज दुलाल, सुनिल केसी र कन्हैया बानियाँ रहेका छन्।
तर बागमती प्रदेशका पूर्वसांसद प्रकाश श्रेष्ठ, अमनकुमार मास्के र वसन्त मानन्धर लगायतका उम्मेदवार भने चुनाव जित्न असफल भए।
लुम्बिनी प्रदेशका धनबहादुर मास्की, धर्मबहादुर चौधरी र कृष्णा केसी ‘नमुना’ पनि संघीय चुनावमा पराजित भए।
रिक्त पदमा उपनिर्वाचन हुने ?
स्थानीय तह र प्रदेश सभाका पदबाट राजीनामा दिएर चुनाव लडेकाले धेरै स्थानमा पद रिक्त भएका छन्। ती पदहरूमा उपनिर्वाचन हुने वा नहुने विषयमा अझै निर्णय भएको छैन।
स्थानीय तह निर्वाचन ऐन अनुसार एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदा पद रिक्त भएमा उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उपनिर्वाचनबारे निर्णय आयोग र सरकारको सल्लाहमा हुनेछ।
‘निर्वाचन गर्ने भए आगामी चैतभित्र मिति घोषणा गरियो भने सहज हुन्छ, तर कार्यकाल छोटो भएकाले के हुन्छ अहिले नै भन्न सकिन्न,’ घिमिरेले बताए।
हाल पदाधिकारी रिक्त भएका स्थानीय तहहरूमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, भरतपुर महानगरपालिका, धुलिखेल नगरपालिका, रंगेली नगरपालिका, सूर्योदय नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, कालिगण्डकी गाउँपालिका र टीकापुर नगरपालिका लगायत रहेका छन्।