काठमाडौँ । पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्हरूले बताएका छन्।
मौसमविद् Sanjeev Adhikari का अनुसार आजको तुलनामा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको छ।
उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा तुवाँलो देखिएको हो। तर उक्त प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि विस्तारै हट्दै जाने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षा समेत भएको छ। आगामी दिनमा मौसम क्रमशः सफा हुँदै जाने तथा दृश्यता सुधार हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।